हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ - Crazysaptahik.com

हलमा लाग्यो हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’

डीसी कमिक्समा आधारित हलिउड सुपरहिरो फिल्म ‘साजम : फ्युरी अफ द गड्स’ शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको छ । घरेलु फिल्म ‘छक्कापञ्जा ४’को दबदबा कायम रहँदा रिलिज भएको वार्नर ब्रोज स्टुडियोको यो फिल्मले नेपाली मल्टिप्लेक्समा औसत अकुपेन्सीसहित ओपनिङ गरेको छ ।

डीसी कमिक्सको चर्चित पात्र ‘साजम’मा आधारित रहेको फिल्मले समीक्षकबाट सन्तोषजनक समीक्षा प्राप्त गरेको छ । यो फिल्म सन् २०१९ मा रिलिज भएको फिल्म ‘साजम’को दोस्रो श्रृंखला हो भने डीसी युनिभर्सको १२ औं फिल्म हो । डेभिड स्यान्डबर्ग निर्देशित फिल्ममा ज्याचरी लेभीको शीर्ष भूमिका छ ।

फिल्ममा बिली ब्याटसन अर्थात् साजम र उनले पालनपोषण गरेका दाजुभाइ एट्लस पात्रका छोरीहरुसँग लड्छन् । साजम नामक टीनएज पात्र कसरी सुपर इगो साजममा परिणत भएर अघि बढ्छ भन्ने यात्राको कथा यसले पेस गर्छ ।

फिल्मले उत्तर अमेरिकी बक्स अफिसमा पहिलो सप्ताहन्त ३५ देखि ४० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण भेराइटी म्यागजिनले गरेको छ । ‘साजम’ कमेडी र भावनात्मक क्लाइम्याक्सले भरिएको सुपर शो हो, जसमा दर्शकले इन्जोय गर्छन् ।

पारिवारिक मैत्री मनोरञ्जन खोज्ने दर्शकका लागि यो फिल्म रुचिकर हुन सक्ने समीक्षक बताउँछन् । यसअघि नेपालमा रिलिज भएको ‘साजम’ले बक्स अपिसमा सन्तोषजनक कमाइ गरेको थियो ।

सम्बन्धित खवर