तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी - Crazysaptahik.com

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् ।

विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए । बन्जी सञ्चालक कम्पनी द क्लिफले अनमोलको बन्जी डाइभिङसहित साहसिक खेलका भिडियो र तस्वीर सेयर गरेको छ जहाँ उनी रमाइरहेका छन् ।

स्वयं अनमोलले पनि यी भिडियो सेयर गरेका छन् । पोखरा घुम्न निस्किएका अनमोलले शुक्रबार एक तस्वीर पोस्ट गरेका छन् । जसले उनी पछिल्लो समय कस्तो मनोदशाबाट गुज्रिएका छन् भन्ने महसुस हुन्छ । फेवाताल किनारको रुखमुनि पिङमा बसेको तस्वीर पोस्ट गर्दै उनी लेख्छन्, ‘र कहिलेकाहीं आज थोरै पीडा हुनुपर्छ । त्यसैले भोलि अलि राम्रो हुन सक्छ ।’

उनको यो पोस्टले उनी आफ्नो करिअरलाई स्तब्ध बनाउने ‘छड्के २’ को बक्स अफिस असफलतासँगक कसरी जुधिरहेका छन् भन्ने छनक मिल्छ । गत साता एक प्रष्टीकरण लेख्दै अनमोलले आफू चुकेको र यतिबेला शून्यमा रहेको लेखेका थिए । कामको कुरा गर्दा अनमोलको आगामी फिल्म ‘जेरी अन टप’ छायांकनको तयारीमा छ ।

सम्बन्धित खवर