विमानमा नेपाली फिल्म देखाउन पर्यटनमन्त्री किरातीलाई आग्रह - Crazysaptahik.com

विमानमा नेपाली फिल्म देखाउन पर्यटनमन्त्री किरातीलाई आग्रह

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)ले नेपालबाट उडान हुने विमानमा सबै नेपाली फिल्मलाई स्क्रिनिङ हुने व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेको छ ।

समापन समारोहमा बोल्दै फेस्टिभल अध्यक्ष केपी पाठकले यसो गर्न सकिए कोभिडपछि थलिएको र हलमा पनि चल्न मुश्किल हुने फिल्मलाई आर्थिक रुपमा राहत मिल्ने बताए । केही वर्षयता नेपाल वायु सेवा निगमले आफ्नो उडानमा केही नेपाली फिल्मलाई स्क्रिनिङ गरिरहेपनि यो पर्याप्त हुन सकेको छैन ।

‘हामीले अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनी र गैरआवासीय नेपालीहरुसँग पनि यसबारे छलफल अघि बढाएका छौं,’ पाठकले  भने । हलबाट लगानी उठ्न मुश्किल परिरहेको बेला डिजिटल प्लेटफर्मले निर्मातालाई राहत दिन सक्ने आशा आफूहरुले राखेको पाठकले बताए ।

‘कोभिडपछि सुस्ताएको बजार र पछिल्लो समय डिजिटल प्लेटफर्म जसरी उदय भइरहेको छ, यस सन्दर्भमा एयरलायन्समा फिल्म देखाउनु महत्वपूर्ण कुरा हो,’ उनले भने । कोभिडअघिदेखि नै वायुसेवा निगमले केही फिल्मलाई जहाजमा देखाउँदै आएको थियो ।

यसपटक भने विदेशी एयरलायन्स कम्पनीहरुलाई पनि स्क्रिनिङमा समेट्नेतर्फ निफले कदम चालेको हो । मन्त्री किरातीले यसबारेमा सकारात्मक प्रतिक्रिया दिएको उनले जनाए । मन्त्री किराती फिल्म कूटनीतिबारे पनि चर्चा गरेका थिए ।

साता भएको निफको छैटौं संस्करणको उद्घाटन समारोहमा चिनियाँ राजदूत छेन सोङले नेपाली फिल्मलाई स्वागत गर्न चीन तयार रहेको बताएका थिए । उनले फिल्ममार्फत नेपाल र चीनको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुने बताएका थिए ।

सम्बन्धित खवर