विवाहपछि सफल भइन् यी अभिनेत्रीहरू - Crazysaptahik.com

विवाहपछि सफल भइन् यी अभिनेत्रीहरू

विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल साबित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् ।

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत साबित गरेका छन् । सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गरिन् ।

‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उनको व्यस्तता उस्तै छ ।

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल भइन् ।

“मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ । यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ । यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो”, अभिनेत्री थापाले भनिन्, “आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन । मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो ।”

अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गरेको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय छन् ।

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ ।

म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”, अभिनेत्री शर्माले भनिन् ।उनले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर