फिल्म ‘बहाव’ खेल्न सुगासँगै सिकेकी थिइन् सुरक्षाले अभिनय - Crazysaptahik.com

फिल्म ‘बहाव’ खेल्न सुगासँगै सिकेकी थिइन् सुरक्षाले अभिनय

अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘बहाव’ चैत २४ गतेदेखि रिलिज हुँदैछ । सुरक्षाले फिल्ममा प्रेमी, विद्रोही र मानसिक अन्तद्र्वन्द्व प्रस्तुत गर्ने एक चरित्र चित्रण गरेकी छन् । ट्रेलरमा पनि पन्तको पात्रले पिंजडामा थुनिएको सुगासँग संवाद गरेको देखिन्छ ।

ट्रेलर हेर्दा लाग्छ, एक पात्रको भूमिकामा सुगा स्वयं छ । चितवनमा दुई महिने कार्यशाला र छायांकन चल्दा सुरक्षा सुगासँग नजिकिइन् । ‘म सुगासँगै दुई महिना वर्कसपमा बसें । जनावर र पंक्षी भन्नेबित्तिकै हामी छिःछि दूरदूर गर्छौं ।

सुगासँग मेरो अनुभव भिन्न रह्यो,’ उनले भनिन्, ‘पिंजडाबाट निस्की भनेर ढोका खोलिदिएँ पनि ऊ निस्किएन । ऊ अन्योलमा थियो । डर पनि हुँदो रहेछ । उसले हाम्रो भाषा बुझ्ने भएपनि ऊ समझदार थियो ।

पंक्षीमा अनौठो किसिमको गुण हुँदो रहेछ । कथा पनि केही हिसाबमा सुगासँग मिल्छ ।’ सुरक्षाको अनुभवमा सुरुमा सुगा उनीसँग नजिकिएन, पछि बिस्तारै नजिकियो । ‘बिस्तारै ऊ मसँग यति नजिकियो कि मेरो खुट्टा वरपर नै घुम्न थाल्यो ।

राति सुत्दा पनि मेरो सिरानी छेउमा रहेको स्ट्यान्ड लाइटमा गएर अड्काएर सुतिरहेको हुन्थ्यो,’ उनले सुनाइन् । ट्रेलरमा पनि उनले सुगालाई ‘तँलाई उड्न मन लाग्दैन हो ?’ भनेर सोधेकी छन् । तर सुरक्षाको अनुभवमा सुगालाई उड्न मन लागे पनि ऊभित्र डर छ र गन्तव्य निश्चित छैन ।

किनकि ऊ पिंजडाभित्रै रमाइरहेको छ । सुरक्षाले आफू फिल्मको अर्को सुगा भएको बताइन् । ‘म घरबाट निस्कन चाहन्छु तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिंदैन । म बहावकी अर्की सुगा हुँ,’ उनले भनिन् ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ लाई प्रमुख विषय बनाइएको फिल्ममा श्रीधर पौडेलको लगानी छ । पौडेलले यसअघि फिल्म ‘गोपी’ निर्माण गरेका थिए ।

कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको पनि फिल्ममा अभिनय छ । फिल्ममा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ ।

सम्बन्धित खवर