नेवारी परम्परामाथि फिल्म बनाउँदै प्रदीप खड्का, बोर्डमा दर्ता गरे ‘बार्हा सी’ - Crazysaptahik.com

नेवारी परम्परामाथि फिल्म बनाउँदै प्रदीप खड्का, बोर्डमा दर्ता गरे ‘बार्हा सी’

अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन ।

एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको फिल्ममा प्रदीप र पूर्णिमा श्रेष्ठलाई कलाकारको रुपमा उल्लेख गरिएको छ । गत फागुन ४ गते प्रदीपले बोर्डमा फिल्म दर्ता गरेका हुन् । शीर्षकअनुसार यो फिल्म ‘मेनस्ट्रिम’ र ‘कमर्सियल’भन्दा मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको बुझिन्छ ।

नेवार समुदायका बालिकालाई महिनावारी सुरु हुनुभन्दा अगाडि गुफा अर्थात् बार्हा राख्ने चलन छ । उक्त परम्परा अनुसार आठदेखि १४ वर्षसम्मका बालिका १२ दिनसम्म सूर्यको प्रकाश नपर्ने अँध्यारो कोठामा बस्नुपर्ने हुन्छ भने घरबाहिर निस्कनु हुँदैन । यसैगरी गुफा बसेकी बालिकलाई पुरुषले हेर्न हुँदैन भन्ने परम्परा छ ।

गुफा बसेको बेला कतिपय बालिकाको स्वास्थ्यमा समस्या आएर मृत्यु समेत हुने गरेको छ । यसकै कथावस्तुमाथि फिल्म ‘बार्हा सी’ बन्न लागेको स्रोतले जनाएको छ । प्रदीपको रुचि पछिल्लो समय सामाजिक कथावस्तुका फिल्ममा देखिएको छ ।

‘प्रकाश’बाट उनले यसैसाता नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए । उनी दिनेश राउतले निर्देशन गर्ने शहीद गंगालालको बायोपिकमा पनि देखिंदैछन् । पछिल्लो समय उनी हिंडेर अमेरिका जाने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को कार्यशालामा व्यस्त छन् ।

सम्बन्धित खवर