गायक दीपक बज्राचार्यको ब्यान्डका पूर्व सदस्य सुवर्ण व्यञ्जनकारको बुधवार निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला सम्बन्धी रोगबाट ग्रसित थिए । उनको उपचारका लागि दीपक बज्राचार्यले आर्थिक सहयोग सङ्कलन गर्दै आएका थिए ।
केही दिन अघि उनले ६ लाख रुपैयाँ सुवर्णलाई प्रदान गरेका थिए । दीपकले नै उनको मृत्युबारे जानकारी दिएका हुन् । दीपकले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अत्यन्तै दुःखका साथ यो भन्न चाहन्छु कि कठोर उपचार र चिकित्सा हेरचाहका बाबजुद हाम्रा साथी सुवर्ण व्यञ्जनकारको बुधवार निधन भएको छ ।’
‘सुवर्णलाई यस्तो विषम परिस्थितिमा साथ र सहयोग गर्नुहुने प्रत्येकलाई धन्यवाद दिन चाहन्छु । तपाईँहरूको साथ र सहयोगले नै उनलाई यत्तिका लामो समयसम्म उपचार गर्न सकियो । आत्माले शान्ति मिलोस् ।’
पछिल्लो समयमा नसा सम्बन्धी समस्या देखिएपछि सुवर्णले एउटा आँखासमेत गुमाएका थिए । सुवर्णले एउटा भिडियोमा मिर्गौला प्रत्यारोपण गर्न पाए जीवन अलि सरल हुने आशा व्यक्त गरेका थिए ।
यसका साथै उनले आफूलाई अझै गितार बजाउन नपुगेको र गितार देख्दा रुन मन लाग्ने बताएका थिए । उनले भनेका थिए, ‘स्वास्थ्यले साथ दिए गितार बजाउने थिएँ ।’