दीपक वलीको आगामी फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा प्रदीप खड्काको समानान्तर भूमिकामा सौगातलाई लिइएको निर्देशक वलीले जानकारी दिए ।
फिल्ममा अन्य केही चलेका कलाकारलाई पनि अनुबन्ध गर्ने तयारी छ । राजबल्लभ कोइराला, नीति शाह र वर्षा सिवाकोटी पनि फिल्ममा अनुबन्धित भइसकेका छन् । ‘सौगातजीले क्यारेक्टर निकै रुचाउनुभएको छ,’ निर्देशक वलीले भने, ‘यसले लाइनअपलाई बलियो बनाएको महसुस हामीले गरेका छौं ।
अन्य बलिया कलाकार पनि जोडिंदै हुनुहुन्छ ।’ सौगात यतिबेला ‘भष्मे डन’को छायांकनमा व्यस्त छन् । ‘क्यामिनो’ वैशाख १५ गतेदेखि छायांकनमा जाँदैछ । दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर जोखिमपूर्ण ढंगले अमेरिका छिर्न संघर्ष गर्ने पात्रहरुको कथावस्तुमा फिल्म निर्माण हुँदैछ ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्मलाई सुनिल विष्टले निर्माण गर्नेछन् । यतिबेला फिल्मको कार्यशाला चलिरहेको छ ।