आरोहण गुरुकुलमा तीन वर्षपछि ‘मार्क्स फर्किए’ - Crazysaptahik.com

आरोहण गुरुकुलमा तीन वर्षपछि ‘मार्क्स फर्किए’

मञ्चनको तीन वर्षपछि आरोहण गुरुकुलले चर्चित नाटक ‘मार्क्स फर्किए’लाई पुनः मञ्चन गर्ने भएको छ । आगामी शुक्रबारदेखि वैशाख ९ गतेसम्म मञ्चन हुने नाटक वर्तमान राजनीति र व्यवस्थालाई लिएर सान्दर्भिक हुने भएकाले पुनः देखाउन लागिएको गुरुकुलले जनाएको छ ।

नाटकलाई पुनः मञ्चन गर्न लागिएकोबारे परिकल्पनाकार तथा निर्देशक प्रवीण खतिवडाले भने, ‘नियमित दर्शकलाई देखाउन पाएनौं भन्ने हुटहुटी पनि उत्तिकै थियो । वर्तमान नेपाली राजनीतिलाई पनि सान्दर्भिक हुने भएकाले मञ्चन गर्न लागेका हौं ।’

यसअघि २०७६ सालमा यसलाई मञ्चन गरिएको थियो । सवा घण्टासम्म चल्ने यो नाटक अमेरिकी इतिहासकार हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’को नेपाली संस्करण हो । नाट्य रुपान्तरण चाहिं खतिवडा स्वयंले गरेका हुन् भने नाटकमा सुनिल पोखरेल माक्र्सको भूमिकामा हुनेछन् ।

यसपटक माक्र्सकी पत्नी जेनीको भूमिकामा निशा शर्माले अभिनय गर्ने भएकी छन् । शर्मा हालै संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा नियुक्त भएकी भएकी थिइन् । ‘उहाँलाई दबाब दिएरै भएपनि नाटक खेल्न मनाएका छौं,’ खतिवडाले भने ।

अन्य कलाकारमा गुरुकुलका विद्यार्थीलाई खेलाउने तयारी उनको छ । यसअघि मञ्चन हुँदा पनि यो नाटकले दर्शकमाझ प्रशंसा बटुलेको थियो । खासगरी नेपाली परिवेशसँग यसको नाट्य रुपान्तरणलाई समीक्षकले रुचाएका थिए ।

सम्बन्धित खवर