नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् ।
दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए ।
उनीहरुले त्यहाँ दिउँसो साढे १२ बजेको शोमा फिल्म हेरेका थिए । नेताहरुले आफैं नै टिकट खरिद गरेर फिल्म हेरेका हुन् । नेताहरुको यो हाइप्रोफाइल शोमा भाग लिन दीपाश्री, कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री बेनिशा हमाल पनि कीर्तिपुर पुगेका थिए ।
फिल्म हेरिसकेपछि नेता नेपाल र खनालले फिल्म मन परेको प्रतिक्रिया दिएको निर्माता शर्माले जानकारी दिए । ‘नेताहरुले फिल्म राम्रो बनेको र मन परेको बताउनुभयो,’ उनले भने । दर्शकसँगै हलको अघिल्लो लहरमा बसेर उनीहरुले फिल्म हेरेका थिए ।
समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने यो फिल्म आक्रामक कमाइको साथ अहिले हलमा चलिरहेको छ । शनिबार मात्रै यो फिल्मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
फिल्म हेरेपछि मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यमान नेपाली राजनीति र समाजको चित्रमाथिको कलात्मक ढंगले गरेको तर व्यंग्यात्मक प्रहार र प्रस्तुति ‘छक्कापञ्जा ४’ दीपक, दीपालगायत सम्पूर्ण कलाकारको जीवन्त अभिनयद्वारा निर्मित चलचित्र सबैले हेरिदिनुहुन सिफारिस गरें है ।’
एमाले नेता योगेश भट्टराईले पनि फिल्म आफूलाई मन परेको बताएका छन् । भरतपुरकी मेयर रेनु दाहाल र प्रदेशका केही मन्त्रीले पनि फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले आफूले निम्तो नदिएपनि नेताहरुले आफैंले टिकट काटेर फिल्म हेरेको बताए । फिल्म प्रवद्र्धनका लागि पोखरा पुगेका उनले नेताहरुले टिकट काटेर हेर्नुले नेपाली फिल्मप्रतिको सम्मान अझ बढेको बताए । हेमराज बीसी निर्देशित फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।