जोन विक ४ : विश्वभर १३७ मिलियन डलरको ओपनिङ, नेपालमा करोड हाराहारी - Crazysaptahik.com

जोन विक ४ : विश्वभर १३७ मिलियन डलरको ओपनिङ, नेपालमा करोड हाराहारी

केनु रिभ्स स्टारर हलिउड फिल्म ‘जोन विक ः च्याप्टर ४’ले पहिलो सप्ताहन्त विश्व बक्स अफिसमा १३८ मिलियन डलरको ओपनिङ गरेको छ । हलिउड सञ्चारमाध्यमका अनुसार यो ओपनिङ सिरिजकै सर्वाधिक हो ।

यो कमाइ अघिल्लो भागभन्दा ७३ प्रतिशतले उच्च रहेको जनाइएको छ । राम्रो समीक्षाको कारण फिल्मले आक्रामक ओपनिङ गरेको ब्यापार विश्लेषकले बताएका छन् । यो चौंथो सिक्वेल अघिल्ला तीनभन्दा बृहत रुपमा रिलिज हुने फिल्म हो ।

बेलायत, जर्मनी, अष्ट्रेलिया, रुस, मेक्सिको, ब्राजिल, भारत, फ्रान्स, ताइवान, फिलिपिन्स र इटालीबाट फिल्मले धेरै कमाएको छ । अप्रिलमा दक्षिण कोरिया र मध्यपूर्व तथा सेप्टेम्बरमा जापानमा प्रदर्शन हुन बाँकी भएकाले कमाइमा थप उछाल आउने प्रक्षेपण छ ।

उत्तर अमेरिकी बक्स अफिसमा पहिलो सप्ताहन्त ७३.५ मिलियन डलर कमाएको फिल्मले ७१ अन्तर्राष्ट्रिय बजारमा ६४ मिलियन डलर कमाउन सक्यो । निर्माणमा खर्च भएको १०० मिलियन डलरलाई पनि यसले रिकभर गरेको भेराइटी म्यागजिनले जनाएको छ ।

‘यो एक उत्कृष्ट सुरुवात हो,’ फिल्म परामर्श फर्म फ्रेन्चाइज इन्टरटेनमेन्टका प्रमुख डेभिड ए ग्रोस भन्छन्, ‘प्रत्येक जोन विक सिक्वेलले ठूलो वृद्धि देखाएका छन् । यो उत्कृष्ट छ ।’ दुई घन्टा ४९ मिनेट लामो ‘आर रेटेड’ फिल्ममा दर्शकीय संख्या उच्च थियो जसलाई हेर्न हलमा ६९ प्रतिशत पुरुष र ७० प्रतिशत दर्शक २५ वर्षभन्दा माथिका थिए ।

फिल्मले नेपाली बक्स अफिसमा सुरुवाती तीन दिनमा एक करोडभन्दा बढी कमाइ गरेको वितरकले जानकारी दिएका छन् । शुक्रबार रिलिज भएको फिल्मले मल्टिप्लेक्समा आकर्षक कमाइ गरेको थियो ।

सम्बन्धित खवर