नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने - Crazysaptahik.com

नेपालसँगै ठूला अन्तर्राष्ट्रिय बजारमा ‘जारी’ प्रदर्शन हुने

दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन मिति तय भएको निर्माण कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ ।

निर्माता रामबाबु गुरुङले स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता फिल्म रिलिज हुनेछ ।

क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज तय भएको छ ।अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वव्यापी धेरै कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी’ निर्माता कम्पनी र कलाकार पनि सहभागी भएकाले एकैपटक विश्वव्यापी प्रदर्शन तय भएको हो । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । नेपालमा भने यो फिल्म वैशाख १ गते रिलिज हुँदैछ ।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म आधारित छ । साता रिलिज भएको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको विदेश व्यापारमा लाभ मिलेको जनाइएको छ ।

कमै नेपाली फिल्मले मात्र रिलिजअघि नै बृहत अन्तर्राष्ट्रिय रिलिजको उपलब्धि हासिल गरेको अनुभव छ ।

सम्बन्धित खवर