जयललितासँग डेट गर्न चाहन्थे अक्षय खन्ना : १९ वर्षमै कपाल झर्दा विक्षिप्त थिए, करिश्माले विवाह गर्न मानिनन् - Crazysaptahik.com

जयललितासँग डेट गर्न चाहन्थे अक्षय खन्ना : १९ वर्षमै कपाल झर्दा विक्षिप्त थिए, करिश्माले विवाह गर्न मानिनन्

ताल, बोर्डर, हलचल, हंगामा, गान्धी माई फादर, रेस, दिल चाहता है जस्ता धेरै फिल्ममा देखिएका अक्षय खन्नालाई बलिउडको सबैभन्दा अन्डररेटेड अभिनेता भन्दा गलत हुनेछैन । उनले आफ्नो अभिनयले दर्शकको मनमा गहिरो छाप छोडे पनि उनलाई सधैँ कम आङ्कलन गरियो ।

धेरै पटक उनी फिल्मबाट टाढा भए र हरेक पटक विधा बदलेर फर्किए, त्यो पनि बलियो ढङ्गले । अभिनयका अलावा उनको कपाल झरेको कुरा पनि निकै चर्चित भएको थियो । १९–२० वर्षको उमेरमा कपाल झर्दा उनी नराम्रोसँग टुटेका थिए ।

यसै कारण उनको आत्मविश्वास पनि लगभग शून्य हुँदै गइरहेको थियो तर अक्षयले कहिल्यै यसलाई लुकाउने कोसिस गरेनन् । ४८ वर्षका अक्षय अझै पनि बलिउडका ‘मोस्ट एलिजिबल ब्याचलर’को सूचीमा छन् ।

न उनले विवाह गरे, न गर्न चाहन्छन् । तर करिश्मा कपुर, तारा शर्माजस्ता अभिनेत्रीसँग उनको नाम नजोडिएको भने होइन । आज अक्षयको ४८ औँ जन्मदिनको विशेष अवसरमा उनको फिल्मी यात्रा, व्यक्तिगत जीवन र उनको ट्रोलिङबारे जानकारी लिऔँ ।

बाल्यकालमा करण जोहरसँग गर्थे अशिष्ट व्यवहार

२८ मार्च १९७५ मा मुम्बईमा जन्मेका अक्षय खन्ना ८० को दशकका स्टार विनोद खन्नाका कान्छा छोरा हुन् । उनले बम्बे इन्टरनेशनल स्कुल र लरेन्स स्कुल लभडेल, उटीबाट आफ्नो स्कूली शिक्षा पूरा गरे ।

अक्षय पढाइमा कमजोर थिए तर खेलकुदमा अब्बल थिए । अक्षय र करण जोहर दक्षिण बम्बईमा छिमेकी थिए र एउटै ब्याडमिन्टन कोर्टमा खेल्थे । अक्षय ब्याडमिन्टन राम्रो खेल्थे, जबकि छिमेकमा बस्ने करण निकै खराब खेल्थे ।

च्याट सो कफी विथ करणमा करण जोहरले खुलासा गरे कि बाल्यकालमा अक्षयले करण तर्फ औँल्याउँदै रिसाएर भन्थे, ‘तिमी… ब्याडमिन्टन कोर्टबाट बाहिर निस्किऊ । ’ करण बाल्यकालमा साधारण थिए, त्यसैले कुनै आपत्ति नगरी सिधै बाहिर निस्किन्थे । करणका अनुसार अक्षयले उनीसँग निकै अशिष्ट व्यवहार गर्थे ।

फेल हुने डरले परीक्षा दिएनन्

अक्षय खन्नालाई पढाइमा कहिल्यै रुचि भएन । १७ वर्षको उमेरमा, अक्षय खन्नाले कलेजको परीक्षा दिएनन् किनभने उनलाई थाहा थियो कि उनी फेल हुनेछन् । अक्षयले परीक्षा त दिएनन् तर उनलाई फेल हुनेभन्दा यो कुरा घरमा कसरी भन्ने होला भन्ने चिन्ताले बढी सताएको थियो ।

महिनौँसम्म अक्षयले आफ्नो बुबा विनोद खन्नालाई आफूलाई पढाई छोड्न मन लागेको भन्न हिम्मत गरेनन् । एक दिन हिम्मतका साथ बुबालाई यसबारे भने तर धेरै गाली खाए । तर अन्ततः उनी राजी भए । यसै क्रममा अक्षयले फिल्ममा करियर बनाउने निर्णय गरे ।

यो कुरा अक्षयले मिड डेसँगको कुराकानीमा सेयर गरेका हुन् । नायक बन्न उनले ‘किशोर’ नामको स्कुलबाट अभिनय सिके ।

वर्षमा नायक बने, बिपाशाले फिल्म गर्न मानिनन्

अक्षय खन्नाले सन् १९९७ मा फिल्म हिमालय पुत्रबाट बलिउडमा डेब्यू गरेका थिए । उनका बुवा विनोद खन्नाले यसमा पैसा लगाएका कारण उनले यो फिल्म पाएका हुन् ।

विनोद खन्ना फिल्म सुरु हुनुअघि गोदरेज सिन्थोल सुपर मोडल प्रतियोगिताको जज बनेका थिए । यो प्रतियोगिता बिपाशा बसुले जितेकी थिइन्, त्यति बेला उनी फिल्ममा आएकी थिइनन् ।

बिपाशाको प्रतिभालाई चिनेर विनोद खन्नाले उनलाई हिमालय पुत्रको प्रस्ताव गरे तर उनले त्यो प्रस्ताव अस्वीकार गरिन् । बिपाशाले त्यति बेला हिरोइन बन्नका लागि आफू निकै सानो भएको बताएकी थिइन् ।

बिपाशाले अस्वीकार गरेपछि उनको ठाउँमा अंजला झावेरीले उनको साटो अक्षय खन्नमसँग डेब्यु गरेकी थिइन् ।

अभिनय करियर

हिमालय पुत्रले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन, तर यसका लागि अक्षयले उत्कृष्ट पुरुष डेब्यु अभिनेताको लागि स्टार स्क्रिन अवार्ड प्राप्त गरे । त्यसपछि अक्षय बोर्डर, लावरिस, आ अब लौट चलें जस्ता फिल्महरूमा देखा परे तर यी फिल्महरू उनको लागि फाइदाजनक साबित भएनन् ।

सन् १९९९ मा हिट फिल्म तालबाट अक्षयले लोकप्रियता पाउन थाले । सन् १९९९ मा अक्षयको ‘दहक’ पनि फ्लप भयो र उनले एक वर्षको ब्रेक लिए । उनले २००१ को ‘दिल चाहता है’ बाट बलियो कम ब्याक गरे । त्यसपछि उनले रेस, आपकी खातिर, गान्धी माई फादर, गली–गली चोर है जस्ता फिल्महरू गरे ।

सुतेको सुत्यै भएपछि तालको सुटिङमा धेरैले कुर्नुपरेको थियो

फिल्म तालमा अक्षय खन्ना, अनिल कपूर र ऐश्वर्या राई मुख्य भूमिकामा थिए । एक दिन अनिल सुटिङको लागि समयमै सेट पुगे तर अक्षय कतै भेटिएनन् । घण्टौँपछि अक्षय सेटमा आए र कुनै हिचकिचाहट बिना सबैलाई ‘आफू सुतेको सुत्यै’ भएको बताए । धेरै मानिस उनीसँग रिसाए तर अनिल कपुरलाई उनको इमानदारी असाध्यै मनपर्यो ।

कम उमेरमै कपाल झर्न थालेपछि चिन्तित

अक्षयको १९ वर्षदेखि नै कपाल झर्न सुरु भएको थियो । यसले उनको आत्मविश्वासलाई नराम्रोसँग डगमगायो । एक अन्तरवार्तामा उनले भने, ‘एक अभिनेताका लागि उनको लुक सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ, कुनै फुटबल खेलाडीका लागि उनको खुट्टा महत्त्वपूर्ण हुन्छ । ’

कपाल झरे पनि अक्षयले कहिल्यै अन्य नेता झैँ विग वा प्याच लगाउनेबारे सोचेनन् । समयसँगै उनले आफ्नो कमी अपनाए । आज अक्षयको झरेको कपाल नै उनको पहिचान बनेको छ ।

करिश्मा कपुरसँग विवाह हुँदै थियो

करिश्मा कपुरका बुवा रणधीर कपुर उनकी छोरीको विवाह आफ्ना नजिकका साथी विनोद खन्नाका छोरा अक्षय खन्नासँग होस् भन्ने चाहन्थे । यस्तो प्रस्ताव उनले विनोद खन्ना सामु राखे, उनी माने ।

तर करिश्माकी आमा बबितालाई भने आफ्नो श्रीमान् रणधीर कपुरको कुरा मन परेन । उनले यो कुरा अस्वीकार गरिन् । बबिताले अस्वीकार गरेपछि यी दुईको विवाह टुट्यो ।

तारा शर्मालाई डेट गरिसकेका छन्

अक्षय एक समय नायिका तारा शर्मासँग सम्बन्धमा थिए । अक्षय आफ्नो निजी जीवनलाई मिडियाबाट टाढा राख्छन् । यद्यपि, जब उनी कफी विद करणको दोस्रो सिजनमा पुगे तब उनले आफ्ना सम्बन्धबारे खुलेर कुरा गरे । रिपोर्टलाई विश्वास गर्ने हो भने अक्षय खन्ना र ताराको ब्रेकअपको कारण जोन अब्राहम थिए । ताराले जोनका लागि अक्षयसँग सम्बन्ध तोडेकी थिइन् ।

जीवनभर अविवाहित रहन चाहन्छन् अक्षय खन्ना

अक्षय खन्ना ४८ वर्षमा पनि अविवाहित छन् र उनका अनुसार उनको भविष्यमा पनि विवाह गर्ने सोच छैन । अक्षयले भने, ‘म एक्लो जीवनमा रमाइरहेको छु र मलाई बच्चामा पनि कुनै रुचि छैन ।’

कुनै बेला जे. जयललितालाई डेट गर्न चाहन्थे अक्षय

सिमी गरेवालको च्याट शोमा अक्षयले आफू तमिलनाडुका पूर्व मुख्यमन्त्री दिवङ्गत जे. जयललितालाई डेट गर्न चाहेको खुलासा गरे । अक्षयले उनका थुप्रै क्षमताले आफूलाई आकर्षित गरेको बताए ।

आमिरका कारण गुमेको थियो ‘तारे जमिन पर’

तारे जमिन पर आमिर खानको करियरको उत्कृष्ट फिल्म मध्ये एक हो । यद्यपि, आमिरभन्दा अघि यो फिल्म अक्षयले पाएका थिए । वास्तवमा निर्माता अमोल गुप्ता अक्षयलाई फिल्ममा शिक्षक राम निकुंजको भूमिका दिन चाहन्थे तर उनीसँग सिधा सम्पर्क भएको थिएन ।

एक दिन निर्माताले आमिरलाई भेटे र उनलाई अक्षय खन्नालाई भेटाइदिन आग्रह गरे, किनभने अक्षय र आमिर ‘दिल चाहता है’ देखि साथी थिए ।

आमिरले निर्मातालाई भने, ‘जबसम्म मलाई फिल्म मन पर्दैन, म कसरी त्यो फिल्म अरूलाई सिफारिस गर्न सक्छु ?’ यो सुनेपछि निर्माताले आमिरलाई स्क्रिप्ट सुनाए र आमिरलाई यो यति मन पयो कि उनी आफैँले उक्त भूमिका निभाउन आग्रह गरे । त्यसपछि अक्षयको सम्भावना काटियो र आमिरले फिल्म पाए ।

४ वर्षको ब्रेकपछि साइड हिरो बने

सन् २०१२ देखि २०१६ सम्म इन्डस्ट्रीबाट टाढा रहेका अक्षयले फिल्म ढिशूमबाट पुनरागमन गरे । त्यसपछि उनका मम, इत्तेफाक, सेक्शन ३७५ जस्ता फिल्महरू लगातार आउन थाले । सन् २०२२ मा रिलिज भएको दृश्यम २ मा अक्षयको भूमिकाले निकै चर्चा पायो ।

सम्बन्धित खवर