कलाकारमाथि साइबर आक्रमण बढ्यो : भुवन केसी - Crazysaptahik.com

कलाकारमाथि साइबर आक्रमण बढ्यो : भुवन केसी

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारमाथि साइबर आक्रमण बढेको बताएका छन् । मंगलबार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तर्क्रिरया कार्यक्रममा बोल्दै उनले कलाकारको गोपनीयता र साइबर सुरक्षामा आक्रमण भएको बताएका हुन् ।

‘प्रविधिका कारण हामीलाई दर्शकसँग सहजै पुग्न र चलचित्र क्षेत्रको विस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ ।

यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौं’ उनले भने । अध्यक्ष केसीले साइबर हमला समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सुरक्षासम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न लागेको बताए ।

‘साइबर सेक्युरिटी एक जटिल मुद्दा हो । यसलाई हामीले बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध छ,’ उनले भने ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए । उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउने व्यवस्था गरेकाले फिल्महरु त्यहाँबाट सार्वजनिक हुने खतरा रहेको बताए ।

सम्बन्धित खवर