गीतकार राजकुमार बगरले पोखरामा ‘एकल गीत वाचन’ गर्ने - Crazysaptahik.com

गीतकार राजकुमार बगरले पोखरामा ‘एकल गीत वाचन’ गर्ने

दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ । गीतकार प्रतिष्ठानले आगामी चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गर्न लागेको हो ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ–पुराना दुई दर्जन चर्चित गीत वाचन गर्नेछन् । प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाँले गीत संगीत भरेर गाउँदा मात्रै होइन, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले यसप्रकारको कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

‘कविता–मुक्तक वाचन हुन सक्छ । त्यसैगरी गीत पनि वाचन हुन सक्छ र गीत संगीत भरेर गाउँदा मात्रै होइन, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले गत वर्षदेखि यसप्रकारको कार्यक्रम सुरु गरेका हौं,’ उनले भने ।

गत वर्ष तीर्थ श्रेष्ठको गीत वाचन गरिएकोमा यस वर्ष बगरले गीत वाचन गर्न लागेका हुन् । एकल गीत वाचन गीतकार बगरको पहिलो अनुभव हो । ‘गीतकारको यस प्रकारका कार्यक्रम विरलै हुने गरेका छन् ।

यो मेरो पहिलो अनुभव भएकाले एकदमै उत्साहित छु,’ बगरले भने । ‘उडेर जून छुन्छु भन्थें,’ ‘यता कुलो काट्दा’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ लगायत आफ्ना झण्डै दुई दर्जन गीत वाचन गर्ने बगरले बताए ।

सम्बन्धित खवर