एक दशकपछि जितु र दमनको ‘मिलन’, मुन्द्रेको कमेडी क्लबमा सहकार्य गर्दै - Crazysaptahik.com

एक दशकपछि जितु र दमनको ‘मिलन’, मुन्द्रेको कमेडी क्लबमा सहकार्य गर्दै

हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको जोडी पुनः एक भएको छ । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा यी दुईले सहकार्य गर्ने भएका छन् । जीतु र दमनले यसको पुष्टि गरेका छन् ।

दिनेश डीसी निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने क्रममा जितु र दमनको भेट भएको थियो । त्यही कार्यक्रममा जोडी बनेका यी दुईले सांगीतिक कार्यक्रम ‘गीताञ्जली’ सञ्चालन गरे । उनीहरुले सँगै स्टेज प्रस्तुति पनि दिए । स्टेज कार्यक्रमका दौरान यी दुईले कमेडी सिरियल ‘जिरे खुर्सानी’ सुरु गरे ।

यो सिरियलमा दमनले ६५ भागसम्म काम गरे अनि सिरियल छाडे । सिरियल छाड्नेतर्फ संकेत गर्दै दमनले यसलाई आफूहरुको दोस्तीमा भाइरस लागेको बताएका थिए । जितुका अनुसार उनीहरुबीच सामान्य मनमुटाव थियो ।

दशकपछि पुनः सँगै

मुन्द्रेको कमेडी क्लबले जितु र दमनलाई पुनः एउटै ठाउँमा ल्याएको छ । जसले निर्देशन गरेको कार्यक्रमबाट उनीहरु साथी भएका थिए, उनैले कमेडी क्लबलाई निर्देशन गर्दैछन् । दिनेश डीसी कार्यक्रमको निर्देशक हुन् ।

जितुले सामाजिक सञ्जालमार्फत दमनसँगको तस्वीर सेयर गर्दै ‘गठबन्धन’ बनेको उल्लेख गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दमनले पनि आफू मुन्द्रेको कमेडी क्लबमा आवद्ध भएपनि भूमिका भने निश्चित भइनसकेको बताए ।

‘दुई सातापछि सुटिङ सुरु हुनेछ र मैले गर्ने भूमिका निश्चित भइसकेको छैन,’ उनले भने । स्रोतका अनुसार फुलन्देको आमा अर्थात् उमेश राईले गर्ने भूमिकाको लागि पनि नयाँ कलाकार फाइनल भइसकेका छन् । तर यस विषयमा खुलाइएको छैन ।

डीसी प्रमुख कार्यकारी अधिकृत रहेको नयाँ टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन’मार्फत मुन्द्रेको कमेडी क्लब प्रसारण गर्ने तयारी भएको निकट स्रोत बताउँछ । वैशाख ४ गतेदेखि परीक्षण प्रसारण सुरु हुने बताइएको उक्त टीभी च्यानलले साउनदेखि नियमित प्रसारण आरम्भ गर्ने जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.