अमित शाहलाई प्रकाश राजले भने– जबरजस्ती हिन्दी थोपरेर घर फुटाउन नखोज्नुस् - Crazysaptahik.com

अमित शाहलाई प्रकाश राजले भने– जबरजस्ती हिन्दी थोपरेर घर फुटाउन नखोज्नुस्

भारतका फिल्मकर्मीहरु राजनीतिक मुद्दामा खुलेर प्रतिक्रिया दिन्छन् । केही दिनअघि भारतीय गृहमन्त्री अमित शाहले गैर हिन्दीभाषी राज्यमा अंग्रेजीको सट्टा हिन्दी भाषा चलाउनुपर्ने अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेको छ ।

गृहमन्त्री शाहको यो अभिव्यक्तिप्रति विशेषगरी दक्षिण भारतीय राज्यका बासिन्दा र कलाकारहरुले असन्तुष्टि पोखेका छन् । यसैबीच अभिनेता प्रकाश राजले पनि गृहमन्त्री शाहको भनाइलाई लिएर टिप्पणी गरेका छन् ।

उनले अमित शाहले बोलेको भिडियो क्लिप सेयर गर्दै ट्वीटरमा लेखेका छन्, ‘घर फुटाउने कोशिश नगर्नुस् गृहमन्त्रीज्यू । हामीमाथि जबरजस्ती हिन्दी भाषा थोपर्न बन्द गर्नुस् । हामीलाई हाम्रो विविधताप्रति प्रेम छ ।

हामी आफ्नो मातृभाषा र पहिचानलाई प्रेम गर्छौं ।’ प्रकाश राजको मातृभाषा कन्नड हो, तर उनले तेलुगू, तमिलका साथै हिन्दी फिल्ममा पनि अभिनय गरेका छन् । उनी अंग्रेजीका अलावा भारतका अन्य केही भाषा फरर बोल्न सक्छन् ।

प्रकाश राजभन्दा अघि संगीतकार एआर रहमानले पनि गृहमन्त्री शाहको अभिव्यक्तिप्रति तीखो टिप्पणी गरेका थिए । उनले ट्वीटरमा तमिल भाषा हाम्रो अस्तित्वको जड भएको लेखेका थिए । एआर पनि तमिलका साथै अंग्रेजी र हिन्दीमा कुरा गर्न सक्छन् ।

 

सम्बन्धित खवर