दीपक–दीपालगायत कलाकारलाई मनपर्यो ‘मन्त्र’ - Crazysaptahik.com

दीपक–दीपालगायत कलाकारलाई मनपर्यो ‘मन्त्र’

शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन्त्र’ बुधबार प्रिमियर भएको छ । बिग मुभिज कमलपोखरीमा आयोजित प्रिमियरमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईं, मोडल निराजन प्रधान लगायत नेता, कलाकार, फिल्मकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

उपस्थिति सबैले फिल्म मन परेको र कथावस्तु राम्रो लागेको बताएका थिए । करिब ५१०० मिटरभन्दा माथिको उचाईमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाङ्कन गरिएको फिल्म हिमाली प्रेमकथा बनेको हो ।

फिल्म हेरेपछि अभिनेता दीपकराजले छायाङ्कन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘फिल्म जुन ठाउँमा छायाङ्कन गरिएको छ, त्यो छायाङ्कनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । फिल्ममा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौँ’ अभिनेता दीपकराजले भने, ‘अर्को ब्याक ग्राउण्डस्कोर सबैभन्दा बढी राम्रो रहेछ ।’

गिरीले फिल्म दर्शकले रुचाउने खालको बनेको बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले फिल्मको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिइन् । फिल्मको कथा वाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको बताइन् ।

उनले फिल्म सबैले हेर्दा राम्रो हुने प्रतिक्रिया दिइन् ।  अभिनेता एवं निर्देशक निश्चल बस्नेतले फिल्म रमाइलो लागेको बताए । उनले फिल्मले स्वदेशकै बाहिर नआएको कथा उठाएको बताए । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईं लगायतले समेत फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।

सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको फिल्म प्रिमियरमा अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित हुन सकिनन् । खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मन्त्र’ मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको अभिनय छ ।

सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिछेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायाङ्कन एवं मित्र डि.गुरुङको सम्पादन छ । फिल्म काठमाडौँ बाहिर एफडी कम्पनी र उपत्यकामा काफिया फिल्मस्ले वितरण गर्देछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.