बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण - Crazysaptahik.com

बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

प्रदर्शनको मिति नजिकिँदै गर्दा आक्रामक प्रचार शैली अपनाएको बहाव चलचित्र निर्माण टोलीले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण गर्न पाउने जोडी गोला प्रथाबाट छनोट गरिने उनले बताए ।

‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ र खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जोडीले एमडि होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछ,’ पौडेलले भने ।

खल्तीकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बहाव फिल्मको टिकट काट्दा खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाईसी प्रमाणित भएको हुनुपर्ने बताइन् । साथै खल्ती एपबाट टिकट काट्दा प्रोमो कोड ‘बहाव’ प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

एमडि होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बहाव सिनेमाको प्रमोशनमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै बिजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न उत्सुक रहेको बताइन् । उनका अनुसार विजेतालाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइ सहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ ।

बहाव फिल्मका मार्केटिङ हेड सुदिप दवाडीले बिजेता छनोट फिल्म प्रदर्शन सकिएको दुई हप्ता पछि खल्तीको अफिसियल पेज मार्फत ‘लक्की ड्र’मार्फत् गरिने बताए ।भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नु पर्नेछ ।

एउटै परिवारका सदस्यबीच राजनीतिले ल्याउने मतभिन्नताको कथा समेटिएको चलचित्र बहावमा सुरक्षा पन्त र कमलमणि नेपाल शीर्ष भूमिकामा छन् । निर्माता श्रीधर पौडेल र अभिनेत्री सुरक्षा पन्तले अघिल्लो फिल्म ‘गोपी’मा पनि सहकार्य गरेका थिए । गोपीले नेपाल सरकारबाट राष्ट्रिय अवार्डसमेत पाएको थियो ।

सम्बन्धित खवर