अनमोलको निर्णय कुर्दै पूजा, राखिन् ‘जेरी–२’ अघि नै सुटिङमा जानुपर्ने सर्त - Crazysaptahik.com

अनमोलको निर्णय कुर्दै पूजा, राखिन् ‘जेरी–२’ अघि नै सुटिङमा जानुपर्ने सर्त

अनमोल केसीलाई शीर्ष भूमिकामा साइन गराउँदै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले केही महिनाअघि भनेकी थिइन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई म हरसम्भव मेहनत गरेर ग्रान्ड बनाउँछु ।’

१० लाख रुपैयाँ साइनिङ अमाउन्ट बुझेपछिको तस्वीरमा अनमोल पनि हर्षित देखिएका थिए ।‘छड्के २’ को छायांकनपछि यो फिल्मको काम सुरु गर्ने दुईपक्षबीच सहमति भएको थियो । ‘छड्के २’ पूर्णतः बक्स अफिसमा असफल भएको डेढ महिना पुग्न लागेको छ ।

चैतको अन्त्य हुन लागिसक्दा पनि प्रोजेक्ट छायांकन हुने सुरसार छैन । यो फिल्ममा अनमोल स्वयं हुन्छन् या हुँदैनन् भन्ने कुराको अन्योल सुरु भएको छ । पूजाले केही दिनअघिको मिटिङको व्यहोरा बताएकी छन् ।

जसअनुसार अनमोलको अर्को फिल्म ‘जेरी अन टप’को सुटिङअघि नै यो फिल्म छायांकनमा जानुपर्ने सर्त उनको छ । पूजाको यो सर्तमा अनमोलले विचार गर्न तीन दिन मागे । तर त्यो समय बितिसक्दा पनि अनमोलले यसबारे जवाफ दिएका छैनन् । यो डेटलाइनले पूजाको बेचैनी बढाएको देखिन्छ ।

सुटिङमा ढिलाइ भएपछि पूजाले अनमोलको जवाफ मागेकी हुन् । ‘उहाँहरुले समय दिन सक्नुभएको छैन । उसले भ्याउँदैन भने अर्को हिरो राख्छु भनेको छु । किनभने यो फिल्मका लागि बडी चेन्ज गर्नुपर्ने हुन्छ । हिंड्न पनि सिक्नुपर्ने हुन्छ ।

यो सबथोक सिक्नलाई तीन महिना चाहिन्छ,’ पूजाले भनिन् ।आफूले गम्भीर ढंगले फिल्म करिअरलाई अघि बढाउन खोजेको पूजा बताउँछिन् । ‘उसले भनेको अमाउन्ट तिरेका छौं । जेरी फ्लोरमा गएपछि आएर जाने भन्ने हुँदैन ।

उहाँले टाइम दिन सक्नुभएन भने अर्कै हिरो राख्छौं । यो फिल्मकै लागि भनेर बाहिरबाट स्क्रिप्ट गरेका छौं,’ उनले भनिन् ।अनमोलले यसबीचमा होम प्रोजेक्ट ‘माइतीघर २’ गर्ने पनि चर्चा छ तर यसको टुंगो अझै छैन ।

खासगरी ‘छड्के २’ फ्लप भएपछि अनमोलसामु गम्भीर भएर प्रोजेक्ट गर्नुपर्ने बाध्यता पनि छ । अर्कोतर्फ रेखा थापासँग पूजाको आगामी फिल्म वैशाख २० गतेदेखि छायांकनमा जाने तयारीमा छ ।

सम्बन्धित खवर