‘प्रसाद २’ लाई रिलिज हुन दिने चलचित्र विकास बोर्डको निर्णय - Crazysaptahik.com

‘प्रसाद २’ लाई रिलिज हुन दिने चलचित्र विकास बोर्डको निर्णय

फिल्म ‘प्रसाद २’ आगामी शुक्रबार रिलिज हुने निश्चित भएको छ । सोमबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय बैठकले फिल्मलाई सेन्सर अनुमति दिने कुरामा सहमति जनाएको छ । बैठकपछि  कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बैठकमा सेन्सर गर्नेसहितका दुई निर्णय भएको बताए ।

सेन्सर भइसकेपछि चलचित्र सम्बद्ध पाँच संस्थाहरु निर्माता संघ, चलचित्र संघ, प्राविधिक संघ, निर्देशक समाज र कलाकार संघबाट बन्ने टिमले गर्ने निर्णयअनुसार फिल्म चलेको रकम कुनै एक संस्थाको खातामा जम्मा गर्ने सहमति पनि भएको छ ।

सोहीअनुसार प्राथमिकताको आधारमा कास्कीको ल्वाङ गाउँको होमस्टे, प्राविधिक र निर्माताले भुक्तानी पाउनेछन् । बैठकमा बोर्ड अध्यक्ष भुवन केसी, सबै उजुरीकर्ता, निर्देशक सुदर्शन थापा र चलचित्र संघका प्रतिनिधि सहभागी थिए ।

बैठक चलिरहँदा बोर्डबाहिर प्रहरी समेत तैनाथ थिए । आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि निर्माता थापालाई प्रहरीले खोजिरहेको छ । तर, आफूले पैसा नपाएसम्म ‘प्रसाद २’ प्रदर्शनमा ल्याउन नदिने भन्दै निर्माता तथा उजुरीकर्ता केशव पाण्डेले निर्णयप्रति असहमति जनाएका छन् ।

उनी बैठक हुँदाहुँदै असहमति जनाउँदै बाहिरिएका थिए । ‘सेन्सर रोक्न नहुने र प्रदर्शन गर्न दिनुपर्ने छलफल भएपछि असहमति जनाएर म निक्लिएँ । बोर्डमा मेरो फिल्मलाई प्रदर्शन गर्न दिनुपर्छ भन्ने मात्र छलफल भयो ।

मेरो पैसा कसरी उठाउने भन्नेतर्फ त कुरै भएन । त्यसैले म यो फिल्मलाई प्रदर्शन गर्न नदिने पक्षमा छु’ उनले भने, ‘फिल्म प्रदर्शन गर्न दियो भने मैले मेरो पैसा त नपाउने भए नि । त्यसैले अर्को कानुनी बाटो अपनाउँछु ।’

पाण्डेले अघि भने, ‘हामीजस्तो मर्कामा परेको निर्माताको कुरा सुन्ने निकाय पनि यहाँ रहेनछ । म त नयाँ परें । हामीले बोलेको सुन्दा पनि सुनेनन । हामीजस्तो नयाँ निर्मातालाई यहाँ मुर्गा नै बनाउँदो रहेछ ।’

थापाविरुद्ध बोर्डसहित सबै संघसंस्थाका लेनदेनको उजुरी परेको थियो । रिलिज हुने दिन नजिक आएपछि बोर्डले यसबारे छिनोफानो गर्न उजुरीकर्तासहितको बैठक बोलाएको हो ।

सम्बन्धित खवर