सुरक्षाको टिप्पणी : फिल्मकर्मीबाटै बहिस्कृत भएको महसुस गरेकी छु - Crazysaptahik.com

सुरक्षाको टिप्पणी : फिल्मकर्मीबाटै बहिस्कृत भएको महसुस गरेकी छु

अभिनेत्री सुरक्षा पन्त यतिबेला आगामी फिल्महरुको प्रवर्द्धनमा सक्रिय छिन् । एक साताको अन्तरालमा उनका दुई फिल्म प्रदर्शन हुँदैछन् । आउँदो शुक्रबार ‘बहाव’ प्रदर्शन हुँदैछ भने वैशाख १ गते ‘बुलाकी’ ।

प्रचारको धपेडीमा खटिएकी सुरक्षाको स्वभाव आफूलाई लागेको कुरा बोलिहाल्नेछ । ‘बहाव’को प्रवर्द्धन दौरान सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूलाई फिल्म क्षेत्रबाटै बायकट (बहिस्करण) गरिएको बताएकी छन् ।

नेपाली फिल्म क्षेत्रमा आफूले सफ्ट विद्रोह गरिरहेको भन्दै उनले महिला केन्द्रित फिल्म बन्नुपर्छ भन्नेमा आफू सधैं अडिग रहेको समेत बताइन् । ‘मलाई फिल्म क्षेत्रबाटै बायकट गरियो । मलाई दर्शक र मिडियाले माया गर्नुभएको छ ।

तर कहींकतै फिल्मकर्मीबाट भने किनारामा पारिएको महसुस भएको छ’, उनले भनिन् । चित्त बुझेको कुरा झट्ट बोलिहाल्दा निर्माताले आफूलाई अप्रोच गर्न नचाहेको हुन सक्ने उनको ठम्याइ छ ।

यस्तो अवस्थामा कहिलेकाहीं आफैंले आत्मसमर्पण गर्न जानुपर्ने परिस्थिति पनि सिर्जना भएको उनले बताइन् । ‘उहाँहरु मलाई अफर गर्न आउनुहुन्न भने म आफैं पनि जानुपर्ने रहेछ । यस्तो कुरा मलाई सुरुमा थाहा थिएन ।

तर अहिले म आफैं पनि आत्मसर्मपण गर्न थालेकी छु’, सुरक्षाले भनिन् । नेपाली फिल्म क्षेत्रमा पुरुष र महिला कलाकारबीच पारिश्रमिकमा विभेद रहेको बताउँदै उनले पुरुषहरु हाबी हुँदा महिला कलाकारले उचित पारिश्रमिक नपाएको दुःखेसो समेत पोखिन् ।

फिल्म ‘बहाव’मा सुरक्षाले एक छोरीको भूमिका निर्वाह गरेकी छन्, जसमा उनको बुवासँग उनको मतभेद हुन्छ । ‘बुलाकी’मा चाहिं उनले जारी प्रथाको कारण पीडित एक ग्रामीण महिलाको भूमिका निर्वाह गरेकी छन् । यस वर्ष रिलिज भएको उनी अभिनित ‘के घर के डेरा’ बक्स अफिसमा हिट रह्यो ।

सम्बन्धित खवर