जब सौगात मल्लले पशुपतिमा दुई महिना साधुको संगत गरे - Crazysaptahik.com

जब सौगात मल्लले पशुपतिमा दुई महिना साधुको संगत गरे

अभिनेता सौगात मल्ल अहिले ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकनमा व्यस्त छन् । सुटिङ अवधिभर उनी काममा यति केन्द्रित हुन्छन् कि दायाँबायाँ ध्यान जाँदैन । चरित्रभित्र छिर्न ज्यान दिने उनको स्वभाव छ ।

केही दिनअघि पशुपतिमा छायांकन भइहेको भष्मे डनको सेटमा सौगात पात्र लुक्समा भेटिए । छायांकन भइरहँदा उनी कोहीसँग बोलेनन् । धेरैलाई रोचक लाग्न सक्छ, छायांकनअघि सौगात दुई महिनासम्म पशुपति क्षेत्रमा पुगे ।

त्यहाँ भेटिने मान्छेको आनीबानी, भाषा, भेषभूषासहित धेरै कुरा सिक्न उनले समय बिताए । छायांकनअघि सौगातले त्यतै खाए, त्यहीं बसे, मान्छेको संगत गरे । छायांकन सेटमा भेटिएका उनी दुरुस्तै त्यस क्षेत्रमा हिंड्ने व्यक्तिको हुलियाको देखिए ।

दुई महिना पशुपति क्षेत्रमै बिताएका सौगातको पात्र पनि निकै रोचक छ । निर्देशक दीपेन्द्र के खनालले सौगातको चरित्रलाई ‘ग्रे’ जोनमा निर्माण गरेका छन् । उनी कताकता खलपात्र जस्ता पनि देखिन्छन् र कताकता सकारात्मक चरित्र पनि ।

निर्देशक खनालले सौगातको पात्र निकै रोचक रहेको बताए । अहिलेसम्म फिल्मबाट स्वस्तिमा खड्का र विपिन कार्कीको हुलिया सार्वजनिक भइसकेको छ तर सौगातको लुक्स आउट भइसकेको छैन ।

सौगातले आफू दुई महिना जति पशुपति क्षेत्रमा बसेको र त्यहाँ बस्ने सन्त बाबाजीको संगत गरेको बताए । ‘त्यही कारण अहिले म सन्तुष्ट छु । काम गर्न पनि सजिलो भएको छ,’ उनको अनुभव छ । चरित्रमा डुब्न सौगातले पात्रकै जीवन बाँच्ने शैली अन्य कलाकारका लागि पनि प्रेरणादायी बन्न सक्छ ।

निर्देशकको कुरा सुन्दा लाग्छ भष्मे डनले सौगातको करिअरलाई नयाँ उचाइमा लैजानेछ ।सौगात यतिबेला निजी कारणले पनि चर्चामा छन् । प्रेमिका तथा अभिनेत्री सृष्टि श्रेष्ठसँग ब्रेकअपको खबरले उनी चर्चामा छन् ।

केही दिनअघि कुरा गर्दै सौगातले काममा केन्द्रित हुनुपर्ने भएकाले अलग भएको बताएका थिए । यसबाहेक क्यामिनो, हात्तीछाप लगायत फिल्ममा समेत उनी देखिनेछन् ।

सम्बन्धित खवर