वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध - Crazysaptahik.com

वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध

आगामी वैशाख १ गते नेपालमा चार फिल्म रिलिज हुँदैछन्, जारी, नाइँ नभन्नु ल ६, बिहेपास र बुलाकी । एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव त हुनेछ नै, यसबाहेक केही अन्तरविरोध समेत देखिन्छ ।

जुन नेपाली फिल्म इतिहासमा पहिलोपटक हुन गइरहेको छ । स्टारकास्ट र चर्चाको हिसाबले यी चारै फिल्म दर्शकमाझ प्रतीक्षित छन् तर एउटै मितिमा रिलिज हुँदा यसको बहुआयामिक प्रभाव पर्नेछ ।

समय र क्रयशक्तिको हिसाबले दर्शकसामु चारमध्ये केही फिल्म मात्र छनोट गरेर हेर्नुपर्ने अवस्था हुन्छ । यीबाहेक एकले अर्काको शो समेत होल्ड गर्दा फिल्मको कमाइमा प्रत्यक्ष प्रभाव पर्नेछ । यी त भए व्यावसायिक पक्षका कुरा । यसबाहेक यी तीन अन्तरविरोध वैशाख १ गते देख्न सकिनेछ ।

स्टार भर्सेस स्टार

स्वाभाविक रुपमा दयाहाङ राई अहिलेका सबैभन्दा व्यस्त र चलेका कलाकार हुन् । २०७९ सालमा रिलिज भएका उनका चार फिल्मले मात्र बक्स अफिसमा ४० करोड हाराहारीमा ग्रस कमाइ गरेका छन् । यो हिसाबले दयाहाङ अहिलेका निर्विवाद स्टार हुन् ।

तर सम्भवतः पहिलोपटक कुनै पनि स्टारका दुई फिल्म एकै दिन रिलिज हुँदैछन् । यसले फिल्मको कमाइमा असर त पुग्छ नै, दर्शक विभाजित हुनेदेखि प्रचारमा समेत समस्या हुन्छ । यो अवस्था अहिले दयाहाङ भोगिरहेका छन् । एउटै स्टारका दुई फिल्म एकै मितिमा आउनु कमाइ र दर्शकीय मनोविज्ञानको हिसाबले जोखिमपूर्ण देखिन्छ ।

कथावस्तु भर्सेस कथावस्तु

भूगोल र समुदायलाई अपवाद मान्ने हो भने वैशाख १ मा प्रदर्शन तयारीमा रहेका दुई फिल्म जारी र बुलाकीको कथावस्तुबीच समानता देखिन्छ । दुवै फिल्मको केन्द्रीय द्वन्द्व निःसन्तान पीडित शीर्ष महिला पात्रले परिवार र समाजसँग गर्नुपरेको संघर्ष नै हो ।

बुलाकीको परिवेश कर्णाली हो भने जारीको परिवेश पूर्वी नेपालको लिम्बू समुदाय हो । तर कथ्य, द्वन्द्व र मनोविज्ञानका हिसाबले यी दुवै फिल्मबीच निकट समानता छ । जसले दर्शकमा जुन भए पनि एउटा हेर्दा हुन्छ भन्ने मनोविज्ञान निर्माण हुन सक्छ । सम्भवतः यो अन्तरविरोध पनि नेपाली फिल्ममा पहिलोपटक हुन लागिरहेको हो ।

जनरा भर्सेस जनरा

वैशाख १ गते प्रदर्शनको तयारीमा रहेका चारै फिल्मको विधा एउटै हो । यी चारै फिल्म सम्बन्ध र पारिवारिक कथावस्तुमा निर्माण भएका हुन् । जनरा एउटै हुने भएपछि यसको स्वाद र मनोरञ्जन एउटै हुने भयो ।

एउटै मितिमा चार फिल्म र त्यसमा पनि चारै फिल्म सम्बन्धको कथामाथि बन्दा भिन्न जनराको पर्खाइमा रहेका दर्शकलाई विकल्प साँघुरिनेछ । फेमिली ड्रामा नेपाली बक्स अफिसमा लाभदायक जनरा भए पनि युवापुस्ताका लागि फेमिली ड्रामा पहिलो रोजाइ नबन्न सक्छ ।

सम्बन्धित खवर