अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् ।
यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले शाहरुखलाई सूचीको शीर्षस्थानमा राखेको छ । चाखलाग्दो कुरा के छ भने शाहरुखले शीर्षस्थानमा रहन चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई पनि उछिनेका छन् ।
उनले एलन मस्क, लियोनल मेसी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता हस्तीलाई उछिन्दै प्रभावशाली व्यक्तिको उपाधि जितेका हुन् । म्यागजिनले सञ्चालन गरेको टाइम हन्ड्रेड पोलमा यो नतिजा आएको उल्लेख गरिएको छ ।
म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई नाइट राइडर्स ग्रुपजस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । दिलवाले दुल्हनियाँ ले जाएँगे र कुछ कुछ होता है जस्ता फिल्मबाट शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइमले जनाएको छ ।
शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले विश्वव्यापी १३० मिलियन डलर कमाएको समेत उल्लेख छ । शाहरुखपछि टाइमको यो सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरुलाई राखिएको छ ।
तेस्रो र चौथो स्थानमा प्रिन्स ह्यारी र मेगन मर्केल छन् । प्रभावशाली व्यक्तिको पाँचौं स्थानमा फुटबल खेलाडी मेसी छन् । यो सूचीको पूर्णपाठ चाहिं अप्रिल १३ मा सार्वजनिक हुने टाइमले उल्लेख गरेको छ ।