फोर्ब्सको नयाँ अर्बपति सूचीमा पपस्टार रिहानादेखि किम कादर्सियनसम्म - Crazysaptahik.com

फोर्ब्सको नयाँ अर्बपति सूचीमा पपस्टार रिहानादेखि किम कादर्सियनसम्म

पपस्टार रिहाना, जे जेड, किम कार्दसियन फोर्ब्स म्यागजिनको अर्बपतिको सूचीमा अटाएका छन् । तर एडिडाससँग व्यावसायिक सम्झौता रद्द भएपछि कान्ये वेस्ट फोर्ब्स अर्बपतिको सूचीबाट बाहिरिएका छन् ।

फोर्ब्सले सन् २०२३ का नयाँ अर्बपतिको सूची सार्वजनिक गरेको छ, जसमा सेलिब्रिटी पनि अटाएका छन् । ‘अम्ब्रेला’ हिटमेकर रिहाना आफ्नो कस्मेटिक ब्राण्ड फेन्टी र संगीत उद्योगबाट अर्बपति बनेकी हुन् ।

फोर्ब्सको सूचीमा सन् २००२ स्थानमा रहेकी रिहानाको सम्पत्ति १.४ बिलियन डलर छ । उनको यो कमाइ गत वर्ष १.७ बिलियन डलर थियो । हलिउड निर्देशक स्टिभन स्पिलवर्ग चार बिलियन डलरसहित सूचीको ७६ औं स्थानमा छन् ।

फेसन स्टाइलिस्ट किम कार्दसियन १.२ बिलियन डलरसहित २२५९ औं स्थानमा छिन् । उनको कपडा ब्रान्ड स्किम सेपवेयरको लागत नै ३.२ बिलियन डलर छ । किमका पूर्वपति तथा पपस्टार कान्ये वेस्टले सामाजिक सञ्जालमा नश्लभेदी टिप्पणी गरेपछि एडिडासले सम्झौता रद्द गरेको थियो ।

जसले गर्दा उनी अर्बपतिको सूचीबाट बाहिरिए । सन् २०२२ उनी १५२२ स्थानमा थिए । उनले आफ्नो ब्राण्ड एजीका लागि खेलकुद कम्पनीसँग बहुवर्षीय सम्झौता गरेका थिए । २५ वर्षीय सेलिब्रिटी काइली जेनर यसपटक सूचीमा छैनन् ।

सन् २०२२ मा फोर्ब्सले उनलाई सेल्फमेड अर्बपतिको सूचीमा राखेको थियो । सन् २०२१ मै सूचीबाट बाहिरिएकी जेनरले सूचीमा पुनरागमन गर्न सकेकी छैनन् । पपस्टार जे जेड र ओफ्रा विन्फ्रे सूचीमा छन् ।

पपस्टार जे जेडको सम्पति १.४ बिलियन डलरबाट वृद्धि भएर २.५ बिलियन डलर पुगेको छ ।१२१७ औं स्थानमा रहेकी टेलिभिजन पर्सनालिटी ओफ्रा विन्फ्रेको सम्पति २.६ बिलियन डलरबाट घटेर २.५ बिलियन डलरमा झरेको छ ।

सन् २०२३ को फोर्ब्स सूचीमा ७७ देशका २६४० जना अर्बपति अटाएका छन् । फ्रान्सको लक्जरी सामानको उत्पादक एलभीएमएचका मालिक बर्नाड आर्नल्ट सूचीको शीर्ष स्थानमा छन् भने दोस्रोमा टेस्ला र स्पेस एक्सका मालिका एलन मस्क छन् ।

सम्बन्धित खवर