हलमा लाग्यो ‘बहाव’, पूर्वसन्ध्यामा पोखरामा प्रिमियर - Crazysaptahik.com

हलमा लाग्यो ‘बहाव’, पूर्वसन्ध्यामा पोखरामा प्रिमियर

सुरक्षा पन्त र कमलमणि नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । एक घण्टा ४६ मिनेट लामो यो फिल्मले एक मध्यमवर्गीय परिवारकी युवतीले विवाह गर्न परिवारबाट आएको दबाबविरुद्ध गर्ने संघर्षको कथा पेश गर्छ ।

प्रमोद कँडेल निर्देशित फिल्ममा सुरक्षा र कमलमणिले बाबुछोरीको भूमिका निर्वाह गरेका छन् । सन्ध्या पात्रको भूमिकामा अभिनय गरेकी सुरक्षा आत्मनिर्भर भएपछि मात्र विवाह गर्न चाहन्छिन् । तर उनका बुवा तत्काल विवाह गर्न दबाब दिन्छन् ।

कुनै बिन्दुमा पुगेर मुख्य पात्रले परिवारबाट विद्रोह गर्छिन् । विवाहलाई लिएर बाउछोरीबीच हुने वैचारिक मतभेद यसको केन्द्रीय द्वन्द्व हो । श्रीधर पौडेलले निर्माण गरेको फिल्मले वर्तमान राजनीति र सामाजिक अन्तद्वन्द्वलाई समेत कटाक्ष गरेको छ ।

फेमिली र मनोवैज्ञानिक ड्रामा जनरामा राखिएको यो फिल्म शुक्रबार रिलिज भएको एक्लो फिल्म हो । यही मितिमा आउने भनिएको प्रसाद २ लाई अदालतले रोकेपछि बहावलाई व्यापारमा राहत मिल्ने अपेक्षा गरिएको छ ।

फिल्म ‘बहाव’को प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायत
रिलिजको पूर्वसन्ध्यामा फिल्मलाई पोखरामा प्रिमियर गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित सञ्चारकर्मी र व्यवसायी सहभागी थिए ।

काठमाडौं प्रिमियरपछि फिल्मलाई पोखरामा प्रिमियर गरिएको हो । प्रिमियरमा सहभागी हुन सुरक्षा, कमलमणिसहितका कलाकार पोखरा पुगेका थिए । पोखरामा फिल्म हेरेपछि पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले फिल्ममा उठान गर्न खोजिएको विषय वर्तमान नेपाली समाजको सान्दर्भिकतासँग मेल खाने बताइन् ।

छोरीलाई अधिकारसम्पन्न बनाउन समाजमा अझै पनि संघर्ष बाँकी रहेको भन्दै उनले प्राविधिक मेहनत जरुरी रहेको बताइन् ।

सम्बन्धित खवर