लुंगी लगाएर नाचेपछि दक्षिण भारतमा सलमान खानको चर्को विरोध - Crazysaptahik.com

लुंगी लगाएर नाचेपछि दक्षिण भारतमा सलमान खानको चर्को विरोध

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीत ‘यन्तमा’लाई लिएर विवाद चर्किएको छ । यो गीतमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको आरोप छ ।

भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले लगाएको लुंगी नधोइएको भन्दै विरोध जनाए । साथै उनले गीतमा परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेको समेत आरोप लगाएका छन् ।

‘यन्तमा’ गीत गत बुधबार रिलिज भएको थियो । गीतमा साउथ स्टार वेंकटेश दग्गुबाती र रामचरण पनि देखिएका छन् । यो गीतमा सलमान लुंगी उठाएर नाचिरहेका छन् । लुंगी दक्षिण भारतको परम्परागत पोशाक हो ।

अहिले यो विषयमा साउथ क्रिकेटरदेखि कलाकारसम्मले विरोध गरिरहेका छन् । पूर्वक्रिकेटर शिवरामकृष्णनले लेखेका छन्, ‘यो अत्यन्तै अपमानजनक र हास्यास्पद छ । यो परम्परागत पोशाकलाई निकै नराम्रो तरिकाले देखाउने प्रयास गरिएको छ ।’

टाइम्स अफ इण्डियासँग कुरा गर्दै एक तमिल कलाकारले नशा खाएर गीत बनाइएको हो भनेर प्रश्न सोधेका छन् । ‘दक्षिण भारतका लागि लुंगीको कति महत्व छ भन्ने निर्मातालाई थाहा छ । सलमानको बारेमा भनौं भने उनले थाहा पाएनन् भन्न सक्छौं ।

तर वेंकटेश र रामचरण दक्षिण भारतबाट आएका हुन् । यो गीतमा उनी कसरी नाच्न सक्छन् र सबैभन्दा पहिले यो लुंगी पनि होइन, लुंगी जस्तै लगाइएको धोती हो,’ उनले लेखेका छन् ।सलमानसँग काम गरेका एक फिल्म निर्माताले सलमान आफ्नो फिल्ममा आफूबाहेक कसैको कुरा सुन्दैनन्, वास्तविकता बुझ्न चाहँदैनन् भनेर बताएका छन् ।

उनले भने, ‘सलमान कसैको कुरा सुन्दैनन्, उनी जे चाहन्छन् त्यही गर्छन् । कसैले गल्ती सच्याउन खोज्दा पनि सलमानले सुन्दैनन् ।’ उक्त गीतमा हिन्दी र तेलुगू मिश्रित शब्द छन् । गायक–संगीतकार विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा रफ्तारको शब्द र सब्बीर अहमदको संगीत छ ।

यो गीत केही हदसम्म शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’को लुंगी डान्ससँग मिल्दोजुल्दो छ । ‘किसी का भाइ किसी की जान’ इदको अवसर पारेर आगामी वैशाख ८ गते रिलिज हुँदैछ । लामो समयपछि सलमान फिल्ममा पुनरागमन गर्दैछन् ।

यस फिल्ममा वेंकटेश दग्गुबाती, पूजा हेग्डे, राघव जुयाल, शहनाज गिल र सिद्धार्थ निगमको पनि प्रमुख भूमिका छ ।

सम्बन्धित खवर