‘टाइगर भर्सेस पठान’मा हलिउड अभिनेता जेसन मोमोआ ‘भिलेन’ बन्ने - Crazysaptahik.com

‘टाइगर भर्सेस पठान’मा हलिउड अभिनेता जेसन मोमोआ ‘भिलेन’ बन्ने

शाहरुख र सलमान खान स्टारर यशराज ब्यानरको जासूस ब्रह्माण्डको फिल्म ‘टाइगर भर्सेस पठान’बारे धेरै चीज लेखियो । तर पछिल्लो समय यो प्रोजेक्टलाई लिएर एउटा खबर छ । यो फिल्मलाई ब्लकबस्टर तुल्याउन यशराजले कुनै कसर बाँकी छाड्ने देखिएको छैन ।

शाहरुख र सलमानबाहेक पनि ठूला स्टारलाई फिल्ममा ल्याउन निर्माताले प्रयत्न गरिरहेका छन् । यस्तोमा हलिउड स्टार जोसन मोमोआले फिल्ममा खलपात्रको भूमिका निर्वाह गर्ने चर्चा छ । यद्यपि यसबारे औपचारिक पुष्टि भइसकेको छैन ।

टाइम्स अफ इण्डियाले सोमबारको अनलाइन संस्करणमा मोमाआले फिल्म खेल्न लागेकोबारे समाचार लेखेको छ । निर्माताले ‘आक्वामान’ स्टारलाई फिल्ममा खेलाउन नजर राखिरहेको जनाइएको छ ।

अभिनेता मोमाओको आगामी हलिउड फिल्म ‘फास्ट एक्स’ रिलिज तयारीमा छ । यदि जेसन यो भारतीय फिल्मसँग जोडिए भने यसले जासूस फिल्मको रुपमा विश्वव्यापी रुपमा हाइप प्राप्त गर्नेछ । शाहरुख र जेसन एउटै फ्रेममा हुन लागेको यो पहिलो अवसर भने हुनेछैन ।

यसअघि रियादमा भएको एक समारोहमा यी दुवैजना एकसाथ देखिएका थिए । दुई दिने सम्मेलनमा उनीहरुले ज्याकी च्यान र जीन क्लाउड भान डम्मेसँग पनि फोटो खिचेका थिए ।

‘टाइगर भर्सेस पठान’ बलिउडमा बनेको अहिलेसम्मकै महंगो फिल्ममध्ये एक बन्ने बताइएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको बजेट कलाकारको पारिश्रमिक बाहेक ३०० करोड भारु रहेको बताइएको छ ।

शाहरुख र सलमानले फिल्ममा आफ्नो भूमिकाको लागि ‘समान’ पारिश्रमिक पाउनेछन् । यो फिल्म सन् २०२५ मा रिलिज हुने बताइएको छ ।

सम्बन्धित खवर