१७ वर्षअघि राखीलाई जबर्जस्ती चुम्बन गरेको मुद्दा खारेजको माग गर्दै मिका सिंह अदालतमा - Crazysaptahik.com

१७ वर्षअघि राखीलाई जबर्जस्ती चुम्बन गरेको मुद्दा खारेजको माग गर्दै मिका सिंह अदालतमा

बलिउड गायक मिका सिंह र राखी सावन्तको कुनैबेलाको चुम्बन प्रकरण पुनः चर्चामा छ । राखीलाई जबर्जस्ती चुम्बन गरेको भन्दै १७ वर्षअघि दायर उजुरी खारेजीको माग गर्दै उनी मुम्बई उच्च अदालत पुगेका हुन् ।

मिकाको निवेदनमा आरोपी र उजुरीकर्ता दुवैले सहजै मामिला सुल्झाएकाले सन् २००६ को मुद्दा खारेज गर्न सकिने दाबी गरिएको छ । यो निवेदन गत सोमबार न्यायाधीश एएस गडकरी र पीडी नाइकको डिभिजन बेन्चमा सुनुवाइको लागि तय गरिएको थियो ।

राखीका वकिल आयुष पासबोलाले अदालतलाई बताएअनुसार एफआईआर खारेज गर्ने सम्बन्धी पत्र प्राप्त भएको थियो तर त्यो अदालतको रजिस्ट्री विभागमा हरायो । त्यसपछि इजलासले उनलाई अर्को साताभित्र नयाँ शपथपत्र पेश गर्न आदेश दियो ।

यसै क्रममा मिकाका वकिल फाल्गुनी ब्रह्मभटले यो मुद्दा विगत १७ वर्षदेखि अलपत्र अवस्थामा रहेको बताए । उनले गायकविरुद्ध मुद्दा दायर भइसकेको तर आरोप लाग्न बाँकी रहेको बताए ।

‘मिका सिंह र राखी सावन्तले त्यो बिर्सिसकेका छन् र आफ्ना समस्या समाधान गरेका छन्,’ उनले भने । २००६ मा आफ्नो जन्मदिनको पार्टीमा मिकाले सावन्तलाई उनको सहमति बिना क्यामेराको अगाडि चुम्बन गरेका थिए ।

त्यसपछि उनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरियो र पछि धरौटीमा रिहा गरियो । अहिले दुवैले यो कुरा बिर्सेर अघि बढेका छन् । मिका र राखी बुधबार मुम्बईमा सँगै देखिएका थिए ।

भारतमा बढ्दो कोरोना संक्रमणबीच उनीहरु मास्क नलगाई अन्तर्वार्ता दिन पापाराजीको भीडमा उभिएका थिए । यति मात्र होइन, विगतका सबै दुश्मनी बिर्सेर दुवैले अंगालो हालेर एकअर्काको प्रशंसा समेत गरे ।

सम्बन्धित खवर