कमब्याक फिल्म ‘बुलाकी’बाट दर्शकको नजरमा पर्नेमा नरेन आशावादी - Crazysaptahik.com

कमब्याक फिल्म ‘बुलाकी’बाट दर्शकको नजरमा पर्नेमा नरेन आशावादी

आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्ममध्ये एक हो ‘बुलाकी’ । कर्णालीको परिवेशमा छायांकन गरिएको यो सोसल ड्रामाले जारीप्रथा र महिला उत्पीडन, संघर्षको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा सुरक्षा पन्त र नरेन खड्काले अभिनय गरेका छन् ।

‘हमेशा’बाट अभिनय करिअर थालेका नरेनले लामो ‘ग्याप’पछि ‘बुलाकी’मार्फत पुनरागमन गरेका हुन् । उनले यसबीचमा केही भोजपुरी फिल्ममा पनि काम गरे । तर राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनको अभिनय दर्शकको रोजाइमा पर्न सकेन ।

यद्यपि ‘बुलाकी’मा आफू सशक्त भूमिकामा प्रस्तुत भएकाले दर्शकको नजरमा पर्ने र मन जित्ने कुरामा उनी आशावादी देखिएका छन् । ठूला ब्यानरका निर्माता तथा निर्देशकको रोजाइमा नपरेका नरेनलाई आफू स्थापित हुन पनि बुलाकी चल्नैपर्ने र नजरमा पर्नैपर्ने दबाब छ ।

‘यसपटक बुलाकीबाट समर्थन र माया पाउने कुरामा आशावादी छु,’ उनी सुनिए । ‘बुलाकी’मा उनले कर्णालीको एक युवा चन्द्रयाको भूमिका निर्वाह गरेका छन् । विवाह गरेको लामो समय भइसक्दा पनि निःसन्तान रहेको चन्द्रया दम्पतीबीच हार्दिक सम्बन्ध छैन ।

सन्तान नहुँदाको पीडाले दाम्पत्य जीवनमा दरार आएको छ । कृषि पेशा गरेर आमा र श्रीमतीको जोहो गरिरहेको नरेनको पात्र छ । नरेनले कर्णाली प्रदेशको एक साधारण युवक चन्द्रयाको भूमिका निर्वाह गरेका छन्, जो विवाहित छन् ।

खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन् । फिल्ममा सुरक्षाले नरेनकी पत्नीको भूमिका निर्वाह गरेकी छन् । आफैं पनि सुदूरपश्चिममा जन्मे हुर्केकाले कर्णालीको चरित्र निर्वाह गर्न सजिलो भएको नरेनको बुझाइ छ ।

फिल्ममा उनी कर्णालीको भेषभूषा र लवजमा सहज देखिएका छन् । फिल्ममा नरेन र सुरक्षासँगै विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोती बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । लक्ष्मण सुनारको निर्देशन रहेको फिल्मको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ ।

 

सम्बन्धित खवर