‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने - Crazysaptahik.com

‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने

‘बाटोमुनिको फूल’ र ‘सुनकेशरी’ फिल्मका निर्माता समेत रहेका कलाकार भीम न्यौपाने ‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिएका छन् । निर्माता अर्जुन कुमार र न्यौपानेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । न्यौपानेको प्रवेशसँगै फिल्मको साझेदार बढेका छन् । देव कार्की, ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी यसअघि नै निर्माण साझेदारको रुपमा फिल्मसँग जोडिइसकेका छन् ।

२ करोड २५ लाख रुपैयाँको लगानीमा निर्माण हुने फिल्मको छायांकन आगामी जेठ १९ गतेदेखि सुरु हुने भएको छ । सौगात मल्ल र ऋचा शर्माको शीर्ष भूमिका रहने फिल्ममा नीरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन, उत्तम न्यौपानेको ध्वनि, प्रवेश मलिक र कालीप्रसाद बाँस्कोटाको संगीत रहने भएको छ ।

आकाश बरालको पटकथा र प्रदीप आचार्यको प्रोडक्सन डिजाइन हुने फिल्मको विदेश वितरणको जिम्मा देव कार्कीको नमस्ते इन्टरटेनमेन्टले लिने भएको छ । तराई–मधेशको परिवेशमा निर्माण हुने यो कमेडी फिल्मलाई विश्वव्यापी बनाउन विदेशस्थित नेपालीहरुलाई पनि सामेल गरिने निर्माता अर्जुन कुमारले बताए ।

हालै यूएईको दुबईमा आयोजित नेपाल सिनेमा फेस्ट समारोहमा यो फिल्मको औपचारिक घोषणा भएको थियो ।

सम्बन्धित खवर