शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘बुलाकी’को बुधबार बेलुका रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्म टोलीसँगै सेलिब्रिटी सहभागी रहे ।
सुरक्षा पन्त, नरेन खड्का, नीता ढुंगाना, हरिहर अधिकारीदेखि राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्म प्रिमियरमा उपस्थित भए ।‘बुलाकी’को प्रिमियरमा फिल्मको चर्चाभन्दा यसले प्राप्त गरेको हल शो संख्याको विषयले प्राथमिकता पायो ।
सांसद शाहीदेखि फिल्मका कलाकारसम्मले हलहरुले फिल्मलाई शो विभाजनमा विभेद गरेको भन्दै असन्तुष्टि जनाए । ‘पश्चिमेली भाषा हुने बित्तिकै हलले विभेद गरिएको देखिएको छ । ‘प्रकाश’ फिल्ममा ठ्याक्कै यस्तो देखिएको थियो ।
हलको सिन्डिकेट देखियो जुन राम्रो होइन,’ शाहीले भने । अभिनेता खड्का शोलाई लिएर आक्रामक सुनिए । नयाँ निर्मातालाई फिल्म उद्योगमा आउन कठिन रहेको बताउँदै उनले पुरानैको हालीमुहाली रहेको गुनासो गरे ।
‘नेपालमा नयाँ मेकरलाई प्रोत्साहन दिइन्न भने किन आउने ? उहाँहरुले नै फेस्टिभल कब्जा गर्नुहुन्छ र उहाँहरुलाई पुरस्कार दिनुहुन्छ,’ उनले भने, ‘५५ वटा र ११ वटा स्क्रिनले कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? नयाँ मेकरलाई फिल्म उद्योगमा आउन कठिन छ, यो कुरा बुझ्न मलाई १० वर्ष लाग्यो ।’
निर्देशक लक्ष्मण सुनारले हलले गरेको विभेदले नरमाइलो लागेको बताए । कर्णालीको परिवेशमा छायांकन गरिएको फिल्मले निःसन्तान भएपछि उत्पन्न सामाजिक असरसँग शीर्ष चरित्रले गर्ने संघर्षको कथा भन्छ ।
मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । फिल्ममा राज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरीको समेत अभिनय छ । शुक्रबार नै दयाहाङ राई अभिनित दुई फिल्महरु जारी र बिहेपास पनि प्रदर्शन हुँदैछन् ।