प्रबल गुरुङको डिजाइन पहिरिएर आलियाले मेटगालामा डेब्यु गर्ने - Crazysaptahik.com

प्रबल गुरुङको डिजाइन पहिरिएर आलियाले मेटगालामा डेब्यु गर्ने


बलिउड अभिनेत्री आलिया भट्टले विश्व फेसनको महाकुम्भ मानिने मेटगालामा यस वर्ष डेब्यु गर्ने भएकी छन् । रोचक कुरा के छ भने नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पहिरनमै उनले मेटगालामा डेब्यु गर्नेछिन् ।

यसअघि पनि आलियाले प्रबलको डिजाइन लगाएकी छन् भने उनी प्रबलकी फ्यान समेत हुन् । गत साता मुम्बईमा आयोजित नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटन समारोहमा यी दुईबीच भेट पनि भएको थियो ।

सन् २०१७ मा दीपिका पादुकोणले पनि प्रबलकै डिजाइन लगाएर मेटगालामा डेब्यु गरेकी थिइन् । करिना कपुर, कियारा आडवाणी, प्रियंका चोपडा, ऐश्वर्या राय, कट्रिना कैफ, सारा अली खान, श्रद्धा कपुर, राधिका मर्चेन्ट लगायतले पनि प्रबलको डिजाइन लगाएका छन् ।

आगामी मे १ मा न्युयोर्कमा विश्व फेसनको महाकुम्भ मानिने मेटगाला आयोजना हुँदैछ । सन् २०२३ को मेटगालाको थिम राखिएको छ, कार्ल लागरफिल्ड : अ लाइन अफ ब्युटी ।

सन् २०१९ मा निधन भएका अग्रज फेसन डिजाइनरप्रति यसपटकको मेटगाला समर्पित हुने भएको छ । यसपटक पनि बियोन्से, लेडी गागा, रिहाना, मेडोनासहित भारतीय सेलिब्रिटी पनि मेटगालामा उपस्थित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर