‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन - Crazysaptahik.com

‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन

फिल्म छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्छ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेस्टोरेसन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिंदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।

डिजिटाइजेसन गरेसँगै ती फिल्मलाई अंग्रेजी भाषामा सबटाइटल समेत गरिएको छ । ‘डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेस्टोरेसन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ ।

रेस्टोरेसनले एट के (आधुनिक प्रविधि)वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौं,’ उनले भने ।

रेस्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि संग्रहति गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई डिजिटाइजेसन गरिएको छ ।

डिजिटाइजेसन भएपछि १६ एमएम र ३५ एमएमका ती फिल्म टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् । नेपालमा फिल्मका् इतिहासलाई सर्वसाधारणसम्म पुयाउन चलचित्र संग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ ।

अधिकृत गुरागाईंका अनुसार दक्षिण एसियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेसन तथा रेस्टोरेसन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेसनको सुरुवात भएको उनले बताए ।

सन् २०२१ मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा डिजिटाइजेसन गरिएका दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । २०७५ भदौ २८ मा सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेसन र रेस्टोरेसनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेसन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर