सुनिल थापा र भोलाराज सापकोटा स्टारर सिरिज ‘ब्रह्माण्ड’को छायांकन पोखरामा सुरु - Crazysaptahik.com

सुनिल थापा र भोलाराज सापकोटा स्टारर सिरिज ‘ब्रह्माण्ड’को छायांकन पोखरामा सुरु

नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो ।

स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले निर्देशन गर्ने सिरिजलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् ।

सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानाले अभिनय गर्दैछन् ।

पछिल्लो समय नेपाली फिल्ममा चरित्र निर्माण र प्रस्तुतिका आधारले एकदमै रुचाइएका र धेरै फिल्म निर्देशकको आँखामा परिरहेका कलाकार अर्पण थापाले पनि यो सिरिजबाट ओटीटीमा डेब्यु गर्न लागेको एकेडेमीका सीईओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।

‘विश्व बजारमा दर्शकको फिल्मको स्वाद र नेपालमा नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेला एकेडेमीले थालेको पहल सफल भएमा निर्माताका लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुनेछ,’ पुरीले भने ।

यो सिरिजलाई एकेडेमीको आफ्नो ओटीटी प्लेटफर्मसहित भारतको ठूलो ओटीटी प्लेटफर्ममा समेत सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ । केही समयअघि एकेडेमीले वीरगञ्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रिलर भनिएको ‘मिस स्कार्लेट’को अहिले पोस्ट–प्रोडक्सन भइरहेको छ ।

सम्बन्धित खवर