पब्जी लाइभमा सलिनमानले भने– पुरानै ढर्राका फिल्ममा काम गर्न रुचि छैन - Crazysaptahik.com

पब्जी लाइभमा सलिनमानले भने– पुरानै ढर्राका फिल्ममा काम गर्न रुचि छैन

सलिनमान बनियाँलाई ‘ए मेरो हजुर २’ ले एकाएक चर्चामा ल्यायो । टीनएजर दर्शकले खोजेको ‘क्युट लुक्स’का सलिनमानले यो फिल्मबाट स्टार बन्ने लक्षण देखाए । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा असफल रह्यो ।

यो सबथोक भएको चार वर्ष बितिसकेको छ । सलिनमान यतिबेला फिल्म वृत्तबाट गुमनाम जस्तै छन् । हालै उनी निकट साथी रहेका अभिनेता सलोन बस्नेतको विवाहमा जन्ती गएको बेला देखिएका थिए ।

त्यतिबेला उनलाई मिडियाले फिल्ममा फर्किने तयारीबारे जिज्ञासा राखेका थिए । उनको बनिबनाउ जवाफ हुन्थ्यो, ‘राम्रो स्क्रिप्ट नै आएन ।’ सलिनमानले त्यसयता कुनै फिल्म साइन गरेका छैनन् बरु उनी भिडियो गेम पब्जी खेलेर समय बिताइरहेका छन् ।

पब्जी लाइभमा उनी फ्यानसँग कुराकानी पनि गर्छन् । फिल्ममा फर्कनेबारे पब्जी लाइभमै उनलाई फ्यानले प्रश्न सोध्छन् । पब्जी लाइभमा फ्यानको जवाफ दिंदै राम्रो फिल्मबाट अफर नआएको बताएका छन् ।

नेपाली फिल्मको कथावस्तु पुरानै ढर्रामा अघि बढेको भन्दै उनले आफूलाई फिल्ममा काम गर्न रुचि नलागेको गुनासो गरे । आफ्नो नयाँ फिल्म कहिले आउँछ भन्नेमा उनी अन्योलमा देखिए । साथै उनले ए मेरो हजुर २ हेरेर चित्त बुझाउन समेत फ्यानलाई आग्रह गरे ।

सलोन बस्नेतको विवाहमा भेटिएका सलिनले  कुरा गर्दै आफूलाई ‘यात्रा’पछि पनि फिल्मको अफर आइरहेको तर चित्त बुझ्ने नआएको बताएका थिए । यसबीचमा उनको विवाह योजनाबारे पनि चर्चा चल्यो तर प्रेमिका अध्ययनका लागि विदेश उडेपछि तत्काललाई रोकिएको छ ।

सम्बन्धित खवर