‘ह्याट्रिक’को पर्खाइमा दयाहाङ–मिरुनाको जोडी - Crazysaptahik.com

‘ह्याट्रिक’को पर्खाइमा दयाहाङ–मिरुनाको जोडी

बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो ।

यी दुईले जोडी बाँधेको ‘जारी’ अहिले आक्रामक ढंगले प्रदर्शन भइरहेको छ । बक्स अफिस ट्रेण्डलाई पछ्याउने हो भने ‘जारी’ले कम्तीमा बक्स अफिसमा दुई अंकको कमाइ गर्ने अनुमान गर्न सकिन्छ ।

एकपछि अर्को हिट फिल्म दिइरहेको दयाहाङ र मिरुनाको यो ‘सिनेम्याटिक केमेस्ट्री’ आगामी फिल्म ‘नांगो गाउँ’मा पनि देख्न सकिनेछ । अहिले छायांकन भइरहेको ‘नांगो गाउँ’मा यी दुईलाई पुनः ‘स्क्रिन कपल’को रुपमा देख्न पाइनेछ ।

यदि यो फिल्म हिट भए दयाहाङ–मिरुना जुगलबन्दीको ‘ह्याट्रिक’ फिल्म बन्नेछ । यी दुईलाई पर्दामा जोडी बाँध्ने श्रेय चाहिं फिल्म निर्माता तथा निर्देशक रामबाबु गुरुङलाई जान्छ ।

कबड्डीपछि दर्शकले यो जोडीलाई हेर्न रुचाइरहेको रेस्पोन्स आफूले पाएको र यसले घरेलु फिल्मलाई पक्कै राम्रो गरेको निर्देशक गुरुङको कथन छ । ‘कबड्डी मात्र होइन, जारीले झनै यो जोडीलाई स्थापित गरिदिएको छ ।

आउने फिल्ममा पनि यी दुईलाई सँगै देख्न सकिनेछ । दर्शकले रुचाएको प्रतिक्रिया हामीले पाएका छौं,’ गुरुङले भने । निर्देशक गुरुङ आगामी फिल्म ‘डिग्री माइला’ छायांकनको तयारीमा छन् र फिल्मको शीर्ष भूमिकामा दयाहाङ छन् ।

अभिनेत्री फाइनल नभइसकेकाले सामाजिक सञ्जालमा दर्शकले मिरुनालाई नै दयाहाङको जोडीको रुपमा हेर्न पाउनुपर्ने माग राखिरहेका छन् । ‘जारी’ फिल्म हेरिसकेपछि फिल्म लेखक तथा समीक्षक सामीप्य तिमल्सिनाले त दयाहाङ र मिरुनाको जोडीलाई बलिउडको चर्चित स्क्रिन–कपल शाहरुख र काजलसँग तुलना गरे ।

‘तुलना क्षम्य होस्, दयाहाङ र मिरुनाको जोडी बलिउडको शाहरुख खान र काजलको जस्तो सुपरहिट हुने छाँट देखियो,’ जारी फिल्म हेरिसकेपछि तिमल्सिनाले व्यक्त गरेको टिप्पणी हो यो ।

अन्य केही समीक्षकले कबड्डी ४ मा भन्दा जारीमा यी दुईको जोडी अझै सशक्त र मर्मस्पर्शी रहेको उल्लेख गरेका छन् । स्रोतका अनुसार केही अन्य ब्यानरले पनि दयाहाङ र मिरुनालाई फिल्ममा जोडी बाँध्ने रुचि देखाइरहेका छन् ।

नहुन् पनि किन ? दयाहाङ एक्लैको शीर्ष भूमिका रहेका चार फिल्महरु कबड्डी ४, के घर के डेरा, दुई रुपैयाँ र फूलबारी अघिल्लो वर्ष बक्स अफिसमा हिट भए । केही महिनाको अन्तरालमै रिलिज भएको ‘जारी’ले नेपाली र अन्तर्राष्ट्रिय बजारमा समेत उनको लोकप्रियतालाई अनुमोदन गरिदिएको छ ।

सम्बन्धित खवर