पासाङ ल्हामु शेर्पाबारेको फिल्मको भव्य प्रिमियर, क्यूएफएक्समा रिलिज हुने - Crazysaptahik.com

पासाङ ल्हामु शेर्पाबारेको फिल्मको भव्य प्रिमियर, क्यूएफएक्समा रिलिज हुने

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ :इन द स्याडो अफ एभरेस्ट’लाई नेपालमा भव्य प्रिमियर गरिएको छ ।

बुधबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा सभामुखसहित विदेशी फिल्ममेकर, आरोही समुदाय, सेलिब्रिटी, कूटनीतिज्ञको उपस्थिति रह्यो ।

राष्ट्रिय विभूति एवं नेपाल तारा पासाङ ल्हामुले हिमाल चढेको ३० वर्ष पुगेको अवसरमा फिल्मलाई देशव्यापी प्रदर्शन गर्न लागिएको हो । यो फिल्म वैशाख १० गते क्यूएफएक्स मल्टिप्लेक्सका हलहरुमा प्रदर्शन हुने पासाङल्हामु फाउण्डेसनले जनाएको छ ।

प्रिमियरमा फिल्म हेरेपछि बोल्दै सभामुख देवराज घिमिरेले पासाङ ल्हामु मुलुककै गौरव रहेको भन्दै फिल्मले सबै दर्शकलाई प्रेरणा दिने बताए । फिल्म हेरेपछि महिलाले प्रेरणा लिन सक्ने र महिलाको संघर्षमा साथ दिने सभामुख घिमिरेको भनाइ थियो ।

पासाङ ल्हामुसँगै सगरमाथा चढेकी आरोही लाक्पा फुटी शेर्पाले अहिले पनि सबैको लागि यो फिल्म प्रेरणादायी रहेको बताइन् ।अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउण्डेसनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन् ।

७२ मिनेट लम्बाइको डकुमेन्ट्री फिल्मलाई शेरोन वुड र आङदोर्जे शेर्पाले निर्माण गरेका हुन् । २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्मलाई यसपटक नेपाली दर्शकले हेर्न पाउने भएका हुन् ।

फिल्मले पासाङ ल्हामुको दुःखद् तर प्रेरणादायी यात्राको वर्णन गर्छ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, अवरोध र समाजदेखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर समाजलाई रुपान्तरणको सन्देश फिल्मले दिएको छ ।

पासाङ ल्हामुले चौथो पटकको प्रयासमा सगरमाथा आरोहण गरेको मर्मस्पर्शी कथा यसले पेश गर्छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिवल र अन्य प्रतिष्ठित फेस्टिभलसहित १४ वटा पुरस्कार समेत जितेको छ ।

विद्यार्थी, अभिभावक र वृद्धवृद्धासम्म जनचेतना पुग्ने उद्देश्यले फिल्मलाई क्यूएफएक्समा मात्र नभएर लुक्ला, नाम्चेसहित सातै प्रदेशका मुख्य सहरमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ ।

फिल्मको प्रदर्शनबाट संकलित रकम शैक्षिक विकासमा खर्च गरिने समेत जनाइएको छ ।२०५० वैशाख १० गते सगरमाथा आरोहण गर्न सफल भएकी पासाङ ल्हामुको शिखरबाट फर्किने क्रममा निधन भएको थियो ।

 

सम्बन्धित खवर