‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव - Crazysaptahik.com

‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव

फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे चर्चा गरे ।

निर्देशक सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र जीवन जिउने महिलाहरू लिम्बू समुदायमा रहेको बताए । ‘नेपाली समाजमा खुला समाज भनेको लिम्बूहरूको हो । बढी स्वतन्त्रता लिम्बूहरूले नै उपभोग गरिरहेका छन् भन्ने गरिन्छ,’ उनले भने, ‘यहाँभित्र महिलाहरूको हक बढी हुन्छ भन्ने कथन छ ।

मलाई यत्तिले मात्रै पुग्दैन भनेर लागेको हो ।’ उनले फिल्म बनाउने सोचबारे भने, ‘जबसम्म छोरीमा पैतृक सम्पत्तिको हक लाग्दैन तबसम्म अरु स्वतन्त्रता फिक्का रहन्छन् भन्ने सोचेर नै जारी बनाउने सोच निकालें ।

बनाउँदा बनाउँदै के के बनाएँ नै थाहा छैन ।’ महिलाले पैतृक सम्पत्तिको उपभोग गर्न नपाउन्जेल अन्य स्वतन्त्रताको अर्थ रहन्न भन्ने यथार्थलाई फिल्ममा देखाउन खोजेको उनको भनाइ छ ।अभिनेता राईले आफू लिम्बू संस्कृतिसँग निकट हुँदा काम गर्न सजिलो भएको अनुभव सुनाए ।

‘काम गर्न कठिन भए पनि लिम्बूसँग नजिक भएकाले सजिलै भयो,’ उनले भने । सांस्कृतिक हिसाबले पनि आफूलाई अभिनय गर्न सजिलो भएको उनको कथन छ । ‘मलाई काम गर्न कल्चरको हिसाबले उस्तैउस्तै भएर धेरै नै सहज भयो, अभिनय गर्नलाई ।

कल्चर मिल्दोजुल्दो थियो, लय पनि मिल्दोजुल्दो थियो,’ उनले भने, ‘स्क्रिप्ट छर्लङ्ग थियो, त्यो मेरो लागि चुनौती थियो । रिस, प्रेम, इगो सबै थियो । सांस्कृतिक हिसाबले पनि मलाई अभिनय गर्न धेरै सहज भयो ।’

मिरुनाले यो फिल्ममा पात्रभित्रै डुबेर अभिनय गर्न पाएको अनुभव सुनाइन् । अभिनय गर्दा पात्रको विषयवस्तुलाई महसुस गरेर काम गरेकाले राम्रो प्रतिक्रिया पाएको मिरुनाको भनाइ छ । ‘‘मैले काम गरेका चरित्रमा जारी भिन्न थियो ।

जारीको स्क्रिप्ट पढ्दा नै मैले धेरै नै भिन्नता पाएको थिएँ,’ उनले भनिन्, ‘स्क्रिप्ट पढ्नेबित्तिकै काम गरेको जस्तो फिल हुन्छ होला भन्ने लागेको थियो । मैले यो चरित्रमा वास्तविक अभिनय गर्ने प्रयास गरेको छु । चलचित्रमा मैले पात्रको अभिनयलाई महसुस गरेर काम गरें र धेरैकुरा सिक्न पाएँ ।’

विजयले लिम्बू भाषा बोल्नै नजान्नेलाई सबैभन्दा बढी लिम्बू भाषा प्रयोग गर्नुपर्ने पात्र बनाउँदा कठिनाइ भएको अनुभव सुनाए । ‘तर सिक्दै जाँदा सहजै अभिनय गरियो,’ उनले भने ।

लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तु समेटिएको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.