‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ ।
यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो । बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गरे ।
फिल्म क्रिटिक्स गिल्ड अफ इण्डियाले बर्सेनि प्रदान गर्ने यो अवार्डलाई भारतमा प्रतिष्ठित मानिन्छ । यो फिल्म नेपाल, भारत, बंगलादेश र फ्रान्सका निर्माताको संयुक्त प्रोजेक्ट पनि हो ।
सुमन सेन निर्देशित यो फिल्मले दुर्गम गाउँबाट चार किशोरकिशोरी चट्टानमा छोडिएको एउटा थोत्रो बसमा संगीत बजाउँदै दिन बताउने कथा पेश गर्छ ।
जब छिमेकी गाउँमा ब्याण्ड प्रतिस्पर्धा आयोजना गरिन्छ, तब यसमा भाग लिन उनीहरुले पैसा र साहस जुटाउँछन् ।मुस्ताङमा छायांकन गरिएको यो फिल्मको लम्बाइ १५ मिनेटको छ ।