पामेलाको निधनका कारण सलमानको ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द - Crazysaptahik.com

पामेलाको निधनका कारण सलमानको ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द

अभिनेता सालमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द गरिएको छ । भारतीय फिल्मका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती तथा गायिका पामेला चोपडाको निधनको कारण फिल्मको प्रदर्शन रद्द गरिएको हो ।

पामेलाको ७४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । पामेला आदित्य चोपडा र उदय चोपडाकी आमा हुन् । उनी रानी मुखजीर्की सासू हुन् । पामेलाको आजै मुम्बईमा अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम बिदाइमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।

रिपोटका अनुसार सलमानले आजै फिल्म ‘किसीका भाइ किसीकी जान’ को स्पेशल सेलिब्रेटी शो राखेका थिए । पामेलाको निधनको खबर बाहिरिएपछि उनले शो स्थगित गरेका हुन् । चोपडा फ्यामिलीसँग सलमानको विशेष प्रकारको सम्बन्ध रहेको छ ।

सलमानले यशराजको ब्यानरमा बनेको ‘सुल्तान’, ‘पठान’ र ‘टाइगर सीरीज’का फिल्ममा काम गरेका छन् । सलमान ‘किसीका भाइ किसीकी जान’ मार्फत तीन वर्षपछि ठुलो पर्दामा फर्किँदै छन् । सलमानको फ्यान यो फिल्मको प्रतीक्षामा छन् । फिल्मको गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ । फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ ।

सम्बन्धित खवर