बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार - Crazysaptahik.com

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् ।

जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय बासिन्दा, प्रहरी र सञ्चारकर्मीसँग तस्वीर खिचाएका छन् । अजित कुमारको फ्यान क्लबमा उनको नेपाल घुमघामका तस्वीरहरु सेयर भइरहेका छन् ।

जहाँ उनी बाइक चलाएरै पुगेको देख्न सकिन्छ ।पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए । त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् ।

काठमाडौंमा केही दिन फिल्मको छायांकन भएको जनाइएको छ । साथै, बाइकका सौखिन उनी यसअघि पनि थाइल्याण्ड लगायतका मुलुकमा बाइक चढेरै पुग्ने गरेका छन् । इण्डिया टाइम्सको एक विवरणअनुसार ‘राइड फर म्युचुअल रेस्पोक्ट’ अभियानअन्तर्गत अजित नेपाल आइपुगेका हुन् ।

उनले बाइकमार्फत नेपाल घुम्ने घोषणा पहिल्यै गरिसकेका थिए । नेपालमा जहाँ पुगेका छन्, त्यहाँ उनले स्थानीयसँग अन्तरक्रिया गरेको देखिएको छ । कामको कुरा गर्दा लाइका प्रोडक्सनले निर्माण गरेको फिल्म ‘एके ६२’ प्रदर्शन तयारीमा छ, जहाँ उनको शीर्ष भूमिका छ ।

सम्बन्धित खवर