अष्ट्रेलियामा १० वर्षपछि गुञ्जियो मंगोलियन हार्ट - Crazysaptahik.com

अष्ट्रेलियामा १० वर्षपछि गुञ्जियो मंगोलियन हार्ट

१० वर्षपछि अष्ट्रेलियाको सांगीतिक यात्रामा हिंडेको नेपालको चर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्वनिर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेलबर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र १६ मा क्यानबेरा कन्सर्ट सकेको हो ।

चारै स्थानमा दर्शकको ठूलो उपस्थिति थियो । ब्यान्डका फ्रन्टम्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट प्रस्तुति सुरु गर्दै ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत चर्चित गीत गाउँदा माहोल तातेको थियो ।

 

‘चारवटै स्थानमा दर्शक प्रस्तुतिमा झुम्मिएका थिए, १० वर्षपछि फर्कंदा पनि अष्ट्रेलियामा माया घटेको रहेनछ, झन् बढेको पाइयो,’ ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले बताए ।

लामाका अनुसार अब चार स्थानमा कन्सर्ट बाँकी छ । शुक्रबार डार्बिन सहरमा कन्सर्टको तालिका छ । २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर यात्रा टुंगिनेछ । टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सीईओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुत १० तारिखमा मेल्बर्न सहरमा हुनेछ ।

त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यानबेरा, २१ मा डार्बिन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर सांगीतिक यात्रा सकिनेछ ।३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा ।

लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘१० वर्षपछि ‘ज्यो ज्यो’ मंगोलियन हार्टसहित आउँदा अष्ट्रेलियाबाट पाएको प्रेमले म दंग छु । धेरैको आग्रह छ, अब अर्को टुर यति लामो ग्यापमा गर्नु हुँदैन,’ लामाले खुसी हुँदै भने ।

सम्बन्धित खवर