सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा - Crazysaptahik.com

सलमानको फिल्मको नेपालमा कमजोर ओपनिङ, ‘जारी’ नै दर्शकको प्राथमिकतामा

दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । अकुपेन्सीको आधारमा यो फिल्म शुक्रबार प्रदर्शनमा आएको सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’भन्दा माथि छ ।

जारीको दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४० देखि ५० प्रतिशत हाराहारीमा छ । जुन सलमानको फिल्मका लागि नेपाली बजारमा कमजोर ओपनिङ हो ।

भारतीय बक्स अफिसमा १५ करोड भारुको ओपनिङ प्रक्षेपण भइरहँदा नेपालमा समेत यो हिन्दी फिल्मको ओपनिङ अपेक्षित नहुने देखिएको छ । एकातर्फ कमजोर प्रचारप्रसार र अर्कोतर्फ जारीको लहरले गर्दा सलमानको लागि नेपाली बक्स अफिस सकसपूर्ण देखिएको हो ।

‘अकुपेन्सी हेर्दा सलमानको फिल्मका लागि ओपनिङ कमजोर देखियो । ५० प्रतिशतभन्दा कम ओपनिङ अकुपेन्सी देखियो । बरु जारीको अकुपेन्सी उच्च देखिएको छ,’ आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले भने, ‘बलियो वर्ड अफ माउथ भएकाले दर्शकको प्राथमिकतामा यो साता पनि जारी नै देखियो ।’

प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि यही ट्रेन्ड देखिएको छ । यो हलले जारीलाई ५२ शो र सलमानको फिल्मलाई ४७ शो दिएको छ । जारीको पहिलो साताको भन्दा शो र अकुपेन्सीमा केही गिरावट आएपनि व्यापक मात्रामा गिरावट चाहिं आएको देखिंदैन ।

जसले गर्दा दर्शकको मुड यो साता पनि जारी नै प्राथमिकता हुनेमा देखिन्छ । सलमान खानको फिल्मको समीक्षा मिश्रित आएकाले यो फिल्मको बक्स अफिस भविष्य वर्ड अफ माउथ र विशुद्ध फ्यानमा निर्भर हुनेछ ।

अकुपेन्सी ओपनिङलाई आधार मान्दा शुक्रबार रिलिज भएको हलिउडको हरर फिल्म ‘एभिल डेड राइज’ तेस्रो स्थानमा छ । मुख्य मल्टिप्लेक्स चेनमा यो फिल्मको अकुपेन्सी २० देखि ३० प्रतिशत हाराहारीमा देखिएको छ ।

यो साता सलमानको फेमिली ड्रामा रिलिज हुँदा हरर जानराको अंग्रेजी फिल्म पनि दर्शकको रोजाइको विकल्पमा उपलब्ध छ ।

सम्बन्धित खवर