‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन - Crazysaptahik.com

‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन

‘छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो । घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ ।

रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको बेला ‘छक्कापञ्जा ४’को यो कमाइ आफैमा उत्साहप्रद हो । ५१ दिन सेलिब्रेसन गर्न अभिनेता तथा निर्माता गिरी, अभिनेत्री दीपाश्री निरौला, निर्माता निर्मल शर्मा शनिबार राजधानीका विभिन्न हलमा पुगेका थिए ।

क्यूएफएक्सको भक्तपुरस्थित हलमा पुगेर उनीहरुले दर्शकसँगै फिल्म हेरे र धन्यवाद दिए । समसामायिक राजनीतिक कथावस्तुमा आधारित यो फिल्म नेपालसहित विदेशमा पनि आक्रामक ढंगले चलेको छ ।

अघिल्ला तीनै श्रृंखलाको उछाल कमाइलाई निरन्तरता दिँदै चौंथो श्रृंखलाले ब्लकबस्टर कमाइ गरेको हो ।गतवर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा दीपक, दीपासहित नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।

वर्ष २०७९ मा ५१ औं दिन मनाउने यो तेस्रो फिल्म हो । ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन सेलिब्रेसन गरेका थिए ।हेमराज बीसी निर्देशित यो फिल्मको पटकथा दीपकले लेखेका हुन् ।

कम्तीमा केही वर्षको ग्याप गरेर पाँचौ श्रृंखला निर्माण गर्ने निर्माताको योजना छ । त्यसअघि दीपक अन्य केही ब्यानरका फिल्ममा काम गर्ने योजनामा छन् ।

सम्बन्धित खवर