लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ को शुभमुर्हूत गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको शुभमुर्हुत गरिएको हो । मुर्हूतमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको समेत उपस्थिति थियो ।
मुर्हुतसँगै फिल्मको सुटिङ पनि आइतबारबाटै सुरु भएको छ । फिल्ममा मलिका महत, भोला सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी र सृजना अधिकारीलगायतको अभिनय रहनेछ । गोल्डेन स्टेट मुभी केमर्सले एसएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मको प्रस्तुतकर्ता दिलासा कृयसन रहेको छ ।
फिल्मको कथा, पटकथा तथा संवाद, निर्माण र गीत निर्देशक सुवेदीकै छ । ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका रङ्ग पत्रकार सुवेदीको पछिल्लो फिल्म ‘लाल जोडी’ हो । लक्ष्मण खासमा फिल्म ‘ठगराज’ निर्देशन र निर्माणको तयारीमा थिए ।
फिल्मका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, यो फिल्मको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले ‘सतीदेवी’ निर्माण थालेका हुन् । फिल्मको छायाङ्कन काठमाडौँ र उपत्यका बाहिर केही स्थानमा हुनेछ ।