राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन - Crazysaptahik.com

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुबाट आवेदन माग गरेको छ ।

आइतवार प्रकाशित सूचनामा बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्त भित्रका फिल्मले आवेदन दिन सक्ने बताएको हो । बोर्डले विशेष चलचित्रको आवेदन पनि माग गरेको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् । राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० बैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने प्रवक्ता बुढाथोकीको भनाई रहेको छ ।

विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरु गरी ६ वटा घोषणा हुनेछन् ।

कला, संस्कृति, रहनसहन, परम्परा, मानवीय समवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

सम्बन्धित खवर