युरोपियन युनियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा हुने - Crazysaptahik.com

युरोपियन युनियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा हुने

 

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटले आयोजना गरेको एक कार्यक्रममा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिइन् ।

जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही वैशाख १५ देखि १७ (अप्रिल २८–३०) सम्म चल्नेछ । महेन्द्रनगरपश्चात् दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते (मे ३–५) मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ ।

फेस्टिभलको अन्तिम प्रर्दशनी काठमाडौंको चावहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ (१२–१५ मे) सम्म आयोजना हुनेछ । फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ ।

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौँमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठवटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरुले निर्माण गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछन् ।

महोत्सवकै दौरानमा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रबद्र्धनमा फिल्मको भूमिका’ विषयक छलफल पनि आयोजना गर्नेछ । छलफलको सञ्चालन सञ्चार तथा मानवअधिकार विज्ञ प्रतिष्ठा कोइरालाले गर्नेछिन् ।

यस छलफलमा युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इड सहभागी हुनेछन् । छलफलमा नेपालका चलचित्र निर्माता तथा निर्देशक अरुणदेव जोशी र फिल्म अध्ययनमा लामो अनुभव भएका डा. सचिन घिमिरे पनि सहभागी हुनेछन् ।

छलफल कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको हलमा वैशाख ३० गते दिउँसो ३ देखि ४.३० सम्म सञ्चालन हुनेछ । अर्को छलफल ‘चलचित्रलाई कसरी बुझ्ने ?’ भन्ने विषयमा हुनेछ । यसको सञ्चालन चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् ।

गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आवद्ध छन् र थुप्रै अवार्ड समेत प्राप्त गरेका छन् । यो छलफल सोही दिन अर्थात बैशाख १७ गते सुदूरपश्चिम विश्वविद्यालयको हलमा दिउँसो ११ देखि १२ बजेसम्म आयोजना हुनेछ ।

गोंगजुले यही विषय मध्यपश्चिम विश्वविद्यालयको हलमा वैशाख २० गते दिउँसो ३.४५ देखि ४.४५ सम्म पढाउनेछन् । सुदुरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरुको महोत्सवको सुरुमा ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ ।

यो फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ र यो समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो । महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।

यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु प्रदर्शन गरिनेछन् । जसमा अंकित खड्गीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाइक माधुरी दीक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक रहेका छन् ।

नेपाली युवा फिल्म निर्माताहरुका अन्य फिल्महरुमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिििफ्टङ्ग क्लाउडस् रहेका छन् । महोत्सवको क्रममा देखाइने तीनवटा युरोपियन फिल्महरु एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशीर्षक पनि हुनेछन् ।

सम्बन्धित खवर