नेटफ्लिक्सले दक्षिण कोरियाली फिल्म र सिरिज निर्माणमा २.५ बिलियन डलर खर्च गर्ने - Crazysaptahik.com

नेटफ्लिक्सले दक्षिण कोरियाली फिल्म र सिरिज निर्माणमा २.५ बिलियन डलर खर्च गर्ने

स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियाली फिल्म र टेलिभिजनको उत्पादनमा २.५ मिलियन डलर लगानी गर्ने भएको छ । लगानीको यो प्रतिबद्धता सन् २०१६ यता कोरियामा उसले खर्च गर्दै आएको रकमभन्दा दोब्बर रहेको कम्पनीले जनाएको छ ।

भेराइटी म्यागजिनका अनुसार नेटफ्लिक्सका सह–प्रमुख कार्यकारी अधिकृत टेड सारान्डोसले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँगको वासिङ्टन डीसीस्थित भेटमा लगानीको उक्त प्रतिबद्धता जनाएका थिए ।

‘हामी यो निर्णय गर्न सक्षम भयौं किनभने हामीसँग ठूलो विश्वास छ कि कोरियाली रचनात्मक उद्योगले उत्कृष्ट कथाहरू सुनाउनेछ । म व्यक्तिगत रूपमा राष्ट्रपतिलाई उहाँको दयालु प्रतिक्रिया पत्रको लागि धन्यवाद दिन चाहन्छु,’ सरान्डोसले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘यो अविश्वसनीय छ कि कोरियाली फिल्म र टेलिभिजन शोप्रतिको मायाले कोरियाप्रति व्यापक चासो जगाएको छ । कोरियाली सिर्जनाकर्मीलाई आकर्षक कथाको लागि हामी धन्यवाद दिन चाहन्छौं । त्यहाँका कथाहरु अब विश्वव्यापी बन्दैछन्,’ विज्ञप्तिमा भनिएको छ ।

नेटफ्लिक्सले ‘स्क्वीड गेम’ र ‘द ग्लोरी’जस्ता ड्रामा सिरिज र ‘फिजिकल १००’जस्ता शोबाट सफलताको आनन्द उठाएको छ । उसको यो घोषणाले कोरियाली फिल्म र सिरिज बजारलाई अझै प्रतिस्पर्धी तुल्याउने अपेक्षा गरिएको छ ।

यतिबेला कोरियाली मनोरञ्जन उद्योगले पूर्वी एसियाभन्दा बाहिर पनि विश्वभर आफ्नो प्रभाव फैलाइरहेको छ ।नेटफ्लिक्सको यो खर्च प्रतिबद्धता यस्तो समयमा आएको छ, जतिबेला अन्य विश्वव्यापी खेलाडीहरु डिज्नी प्लस र एप्पल टिभी पनि कोरियाली कार्यक्रमको विस्तारित स्लेटसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

विश्लेषक फर्म मिडिया पार्टनर्स एसियाका अनुसार नेटफ्लिक्सले सन् २०२२ मा कोरियाली कथावस्तुमा ७०० मिलियन डलर खर्च गरेको थियो ।

सम्बन्धित खवर